हरेक राजनीतिक दलको जीवनलाई चलायमान र गतिशील बनाउन नेतृत्व चयन प्रक्रियालाई महत्वपूर्ण कडीका रूपमा हेरिन्छ । एउटा जीवन्त लोकतान्त्रिक पार्टीको प्राण रहेका भातृ संस्थाको अधिवेशन र महाधिवेशनले सङ्गठनका विभिन्न तहमा नेतृत्व चयन गर्नुका साथै सिङ्गो देश र पार्टीलाई थप ऊर्जासहित दिशानिर्देश प्रदान गर्छ । नेपाली कांग्रेसका महत्वपूर्ण भातृ संस्था महाधिवेशनको महायज्ञमा होमिने वातावरण निर्माण भएको छ । पार्टी नेतृत्वले गरेको यो कदम स्वागत योग्य छ । महाधिवेशन र अधिवेशन वैचारिक बहस, विधि विधानलाई समयानुकूल अध्यावधिक गर्दै अगाडि बढ्ने उपयुक्त अवसरका साथै नेतृत्व विकासको महायज्ञ मानिन्छ । सबैको साथ सहयोग र सहभागिताले मात्रै यो महायज्ञ सफल हुन्छ । न्याय सङ्गत र विधान सम्मत अधिवेशनको हाम्रो माग र आवाजले निर्देशक समितिमार्फत आकार र प्राण पाएको छ । निर्देशक समिति निर्माणसँगै महाधिवेशनको कार्यभारले एउटा निश्चित बाटो तय गर्ने देखिन्छ । यसले भातृ संस्थाको अधिवेशनमा दत्तचित्त भएर जुट्न सबैमा आशाको सञ्चार गरेको छ ।
आन्दोलन र अपेक्षा
इतिहासले नेविसङ्घलाई परिवर्तनका लागि लड्ने आन्दोलनको रूपमा स्थापित गरेको छ । आगामी समयमा पनि सङ्घले आफ्नो मार्गदर्शक भूमिका निर्वाह गर्न निरन्तर लागिरहनुपर्ने चुनौती छ । सङ्घले विगतमा गरेका ऐतिहासिक कामको विरासत बोक्दै गर्दा भविष्यको रूपरेखा कस्तो बनाउने र भोलिको इतिहास कस्तो रच्ने साँच्चिकै चुनौती छ । प्रतिबन्धित कालमा पार्टी सहायक र रक्षात्मक भूमिकामा रहेको अवस्थामा समेत पञ्चायतका विरुद्ध खुलेर धावा बोल्ने र पार्टीका सम्पूर्ण गतिविधिलाई सफलतापूर्वक अवतरण गराएको गर्विलो अनुभूति बोकेको इतिहास जीवन्त छ । हरेक आन्दोलनको मोर्चामा अग्रसरता जनाउने मात्र नभएर आन्दोलनलाई परिणाममुखी बनाउने सन्दर्भमा यस सङ्गठनको बेग्लै र अग्लो पहिचान छ । हरेक कठिन समयमा कुशलतापूर्वक यो सङ्गठनका विगतका नेतृत्वले असाधारण नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । इतिहासका रचनात्मक कार्यलाई शिरोधार्य गर्दै विद्यार्थीमाझ फरक शैलीको आयाम स्थापित गरेको सङ्गठन वर्तमान समयमा आउँदै गर्दा यसको दक्षता र प्रभावकारिताका विषयमा थुप्रै चासो र प्रश्न अनुत्तरित छन् । सामान्य क्षमता र साधारण नेतृत्वबाट विगतको गरिमाको तक्मा पहिरने सामथ्र्य त बन्न सक्छ तर यसको औचित्य र विगतको नेतृत्वप्रति सच्चा सम्मान भने कर्मका माध्यमले मात्रै सम्भव छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हाम्रो राजनीतिक र सामाजिक संरचना पनि नयाँ चरणमा प्रवेश गरेको छ । यस नवीन व्यवस्थामा नेविसङ्घको भूमिका पनि बदलिनु आवश्यक छ । विगतमा राजनीतिक परिवर्तनका लागि लड्ने सङ्गठनका रूपमा रहेको नेविसङ्घ अब लोकतन्त्रलाई संस्थागत गर्ने, समावेशीता प्रवर्धन गर्ने र विद्यार्थीको हकहितका लागि लड्ने भूमिकामा उभिनुपर्ने छ । संविधान र व्यवस्थामाथि प्रहार गर्नेहरूबाट उत्पन्न हुन सक्ने सङ्कट र अस्तव्यस्ततावाट देशलाई जोगाउनुपर्ने छ । हाम्रो स्वाधीनता र सार्वभौमिकतालाई अखण्ड राख्नुपर्ने छ । विविधता माझको एकतालाई पैरवी गरेर राष्ट्र निर्माणमा बलियो राष्ट्रियता र विश्व भूगोलमा रहेका नेपालीको नेपालीत्वको प्रवर्धन गर्नुपर्ने छ ।
पार्टीको भरोसायोग्य जग र मुद्दा
कांग्रेसले मात्रै देशमा साँचो अर्थमा समृद्धि, विकास र निकास दिन सक्छ भन्ने मान्यता छ । त्यसका निम्ति २०८४ सालमा हुने निर्वाचनमा कांग्रेसलाई दुई तिहाइ मत दिलाउनु परेको छ । त्यसका निम्ति पार्टी संरचनालाई चलायमान बनाउनुपर्ने हुन्छ । १० लाख क्रियाशील सदस्य थप्नुपर्ने हुन्छ । त्यो विशाल अभियानको प्रारम्भ सङ्घको सदस्यता वितरणदेखि प्रारम्भ हुन्छ । सङ्गठनमा रुचाइएको, आमनेता कार्यकर्तासँग भिजेको, देशको माटो बुझेको, कांग्रेसको सिद्धान्त शिरोपर गरेको, अहोरात्र खटेको र खट्न सक्ने, मौदानमा उपस्थित हुने, निर्भीक, विवेकी, कर्मशील टिम निर्माण गर्न सक्ने, कार्यकर्ताको संरक्षण गर्न सक्ने, लाखौँ कार्यकर्तालाई प्रशिक्षणका माध्यमले जोड्ने नेतृत्व अबको खाँचो हो ।
आग्रह पूर्वाग्रह र स्वार्थभन्दा माथि उठेर निर्णय गर्न सक्ने, सबैलाई समेट्न सक्ने, स्वभाव र व्यवहारमा प्रजातान्त्रिक मान्यता अङ्गीकार गर्न सक्ने, नागरिक समाजदेखि सरकारसँग समन्वय गर्न सक्ने, नयाँ पुस्ता देखि सिक्न सक्ने, अग्रज नेतृत्वसँग परामर्श लिनसक्ने र नेविसङ्घका माध्यमले कांग्रेस र कांग्रेसका माध्यमले देश बनाउने इच्छाशक्ति र योग्यता भएको व्यक्ति नेविसङ्घको नेतृत्वमा आउन आवश्यक छ ।
शिक्षामा गरिने पुँजीवादी हस्तक्षेपको परिणामस्वरूप शिक्षालाई नाफामुखी बनाउने प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । यो प्रवृत्तिले सामान्य श्रमिक वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित गरेको छ । आज हरेक नेपाली नागरिकको चुलो जलाउन समेत धौधौ अवस्था छ । भान्साको खर्च धन्न हम्मे हम्मे छ । शिक्षाको माध्यमले समाजमा धनी र गरिब वर्ग निर्माण भइरहेको छ । खाने तेलदेखि इन्धनसम्म महँगाइले सबैलाई मारमा पारेको छ । सहकारीदेखि सरकार सबैतर्फदेखि जनता ठगिएका छन् । संविधानमा परिभाषित मौलिक अधिकार नागरिकले पूर्ण रूपमा अनुभूति गर्न पाएका छैनन् । उपचार गर्दा घरखेत बेच्नुपर्ने अवस्था छ । हाम्रो देशमा भ्रष्टाचार र सुशासनका समस्या विकासको वाधक बनेको छ । नेविसङ्घले विभिन्न शैक्षिक र सामाजिक मुद्दाहरूमा प्रविधिको उपयोग गरेर जागरूकता अभियान सञ्चालन गर्नु पर्ने बेला आएको छ ।
आजको विद्यार्थी समाजको प्रमुख मुद्दा भनेको शिक्षा र रोजगारी हो । विशेष गरी प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षणको पहुँचमा असमानता रहेको छ । धेरै जसो शिक्षण संस्थाले महँगो शुल्क लिएर शिक्षा दिन्छन् । यसले गर्दा विपन्न वर्गका विद्यार्थी गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भइरहेका छन् । कुनै पनि दलको शिक्षा नीति नभएका बेला कांग्रेसले शिक्षा नीति बनाउने निर्णय गरेकाले शिक्षाको रूपान्तरणमा ठुलो काम गर्न सकिन्छ । गुणस्तरी शिक्षामार्फत तमाम विकृति निर्मूल गर्न सकिन्छ ।
अधिवेशन र नेतृत्व
अधिवेशनमार्फत स्थापित नेतृत्वले मात्रै हरेक मुद्दाको न्यायोचित उठान र बैठन गर्न सक्छ । आज अदृश्य शक्तिले कुनै न कुनै रूपमा विद्यार्थी आन्दोलन तुहाउन खोजेको आभास विद्यार्थी राजनीति गर्ने सबैले महसुस गरेका छन् । नेविसङ्घले उठाउनुपर्ने एजेन्डा आज अन्य पार्टीले बोकिरहेका छन् । हाम्रो नेतृत्वमा आन्दोलन हुनुपर्नेमा सो नहुँदा समाजमा थुप्रै अभियन्ताको नाममा अराजकता मौलाइरहेको छ । विद्यार्थी आन्दोलन बुझेको र अग्रपङ्क्तिमा आन्दोलनको मोर्चा हाँक्न सक्ने नेतृत्व आजको आवश्यकता हो । नेतृत्वकर्ताको स्वभाव र व्यक्तित्वको प्रत्यक्ष सम्बन्ध विद्यार्थी आन्दोलनसँग हुन्छ । अब अधिवेशनमार्फत नेतृत्व छान्ने क्रममा यो दृष्टिकोणले समेत प्रभाव पार्ने देखिन्छ ।
सङ्घको प्रमुख विशेषता भनेको यसको समावेशी विधान हो । सङ्घको विधानले सबै वर्ग, जाति, धर्म, र लिङ्गका मानिसलाई नेतृत्वमा पुग्ने अवसर प्रदान गरेको छ । यति धेरै प्रगतिशील र वैज्ञानिक जिधान हुँदाहुँदै पनि मधेशी, दलित, महिला, आदिवासी जनजाति समुदायका व्यक्तिलाई सङ्गठनको नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता छ । विधानलाई अझ फराकिलो ढङ्गले आत्मासात् गर्दै यसको सफल कार्यान्वयनको पाटोलाई व्यहारमा रूपान्तरण गर्न अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वमा समयसापेक्ष दृष्टिकोण अपरिहार्य छ ।
मुलुकमा बेरोजगारी दर बढ्दो क्रममा छ । युवा वैदेशिक रोजगारीको खोजीमा विदेश जान बाध्य भएका छन् । सङ्घले यो समस्या समाधान गर्नसरकारले बनाएका रोजगार कार्यक्रमको सही कार्यान्वयन सुनिश्चित गर्न पहल गर्नु पर्छ । शिक्षा नीति र रोजगारका अवसरको असमानताविरुद्ध आवाज उठाउनु पर्छ । युवालाई स्वदेशमै अवसर दिन सरकारलाई दबाब दिनु पर्छ । युवालाई उद्यमसँग जोड्ने कार्यक्रम निर्माण गर्न धितोबिना पाउने कर्जाको प्रबन्ध लागु गर्नु पर्छ ।
सफ्ट लोन, इन्क्युवेशन सेन्टर, स्टार्ट अप सपोर्ट, आदिको प्रबन्ध गर्नु पर्छ । आजको विद्यार्थी आन्दोलनले विगतजस्तो गतिशीलता गुमाएको भनी धेरैले टिप्पणी गरेका छन् । धेरै ठाउँमा यो आन्दोलन राजनीतिक स्वार्थका कारण प्रभावित देखिएको छ । त्यसैका कारण उद्देश्यविपरीत परिणाम उत्पन्न भएका छन् । खास गरी गुटबन्दी, स्वार्थमा चल्ने विद्यार्थी सङ्गठनका नेतृत्वको परिपाटी र शैक्षिक संस्थामा व्यापारीकरणको प्रभावले विद्यार्थी आन्दोलनको ओज घटाएको छ ।
समाजका कमजोर वर्ग, अल्पसङ्ख्यक समुदाय, शिक्षा र रोजगारमा पछाडि परेका व्यक्तिको हितमा काम गर्नुपर्ने छ । विद्यार्थी आन्दोलनलाई एक नवीन दृष्टिकोणसहित अघि बढाउन जरुरी छ, जहाँ विद्यार्थीको वास्तविक मुद्दामा जोड दिइने छ । उनीहरूको भविष्य सुनिश्चित हुने गरी काम गर्नुपर्ने छ । सनातन प्रतिपक्ष मात्रै होइन अबको नेविसङ्घ सरकार र पार्टीको प्रतिपक्ष मात्रै नभएर विकास र समृद्धिमा सहायक साझेधार हुनु पर्छ । सरकार र पार्टीसँग हातेमालो कहिले गर्ने र खबरदारी कहिले गर्ने भन्ने कुराको विवेक रहेको नेतृत्व १२ औँ अधिवेशनमार्फत खोज्नु पर्छ । नेविसङ्घ जस्तो अग्रणी र सम्मानित संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन सक्षम नेतृत्वको आवश्यकता छ । नेविसङ्घले आफ्ना नेतृत्वलाई युवा केन्द्रित बनाउन ३२ वर्षको उमेर सीमा तोक्नु सकारात्मक कदम हो । यसले युवा पुस्तालाई नेतृत्वमा आउने मौका दिएको छ । यसैका माध्यमले सङ्गठनमा नयाँ विचारधारा र ऊर्जा ल्याउन सकिन्छ । नेविसङ्घले यी चुनौती पार गर्दै युवा नेतृत्वलाई जिम्मेवारी दिने प्रक्रिया अगाडि बढाउनु पर्छ । योग्य, इमानदार र समर्पित विद्यार्थी नेतालाई अगाडि ल्याउन, नेविसङ्घले स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रिया अपनाउनु पर्छ । स्वच्छ तथा निष्पक्ष अधिवेशन नै यसको मार्ग हो ।
अन्त्यमा
विगतका परिवर्तनको नेतृत्व गरेको इतिहासबाट प्रेरित भएर, भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्नु पर्छ । नेविसङ्घले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, र वातावरणीय विषयमा गहिरो बहस र रणनीतिक हस्तक्षेप गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउनु पर्छ । आज चेतनाको राजनीति नभएर उत्तेजनाको राजनीति भइरहेको छ । चेतनाको राजनीतितर्फ मुलुकलाई अग्रसर गराउन समाजमा फेरि बौद्धिक बहसको खाँचो छ । आज मिसकम्युनिकेसन, डिसइनफर्मेसन, डाटा प्यान्ड्यामिक, आदि जस्ता आधुनिक समस्या देखिएका छन् । यिनको समेत निराकरण र निवारण गर्न नेविसङ्घलाई वैचारिक दायरामा बृहत्तर बनाउनै पर्छ । विशुद्ध राजनीतिक मात्रै नभएर नेविसङ्घलाई नवीनता र प्रबुद्धताको थलोका रूपमा विकसित गर्नुपर्ने छ ।
नेविसङ्घको १२ औँ अधिवेशनले सङ्गठनलाई पुनर्जागरणको अवसर दिएको छ । यो अधिवेशन सङ्घलाई मात्र होइन, सम्पूर्ण विद्यार्थी आन्दोलनलाई नयाँ दिशामा अगाडि बढाउने मौका हो । नेतृत्वको पुस्तान्तरण, सङ्गठनको पुनर्संरचना र भविष्यका चुनौतीको सामना गर्न तयार हुने यो क्षण हो । लगत्तै स्ववियु निर्वाचनको समेत तयारी गर्नुपर्ने छ । सम्भवतः नेविसङ्घको अधिवेशनको सुरुवात यथाशीघ्र गरेर स्ववियु निर्वाचनसम्म नयाँ निर्वाचित नेतृत्वले कार्यभार समाली सक्ने अवस्था निर्माण गर्नु पर्छ । नवनिर्वाचित नेतृत्वले स्ववियु निर्वाचनमा थप हौसला, ऊर्जा र शक्ति प्राप्त गर्न सक्छ ।