• २७ मंसिर २०८१, बिहिबार

पहाडी सडकको दुर्दशा : सैँतिस वर्षमा पनि भएन स्तरोन्नति

blog

फाइल तस्बिर ।

होमराज रानाभाट 

देवचुली (नवलपरासी), मङ्सिर २७ गते । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले–धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म सडक स्तरोन्नति हुने कुनै छाँटकाट देखिँदैन । 

सडक स्तरोन्नति हुन नसक्दा यो सडक भएर यात्रा गर्नेले बर्सेनि सास्ती र हैरानी खेप्दै आएका छन् । हरेक वर्ष हुने सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ । पहिले स्तरोन्नतिका लागि केही काम भए पनि वर्षाले पहाडी क्षेत्रमा आउने ठुला ठुला पहिरोले सडक जस्ताको तस्तै बनाउन थालेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।

यो सडक भएर पहाडी दुई गाउँपालिका हुँदै तनहुँ, पोखरा र पाल्पा जोड्ने सडकको अहिले स्तरोन्नतिका काम सबै रोकिएको बौदीकाली गाउँपालिकाका पूर्वअध्यक्ष दुर्गा रानामगरले गुनासो गर्नुभयो । 

सुगम जिल्लाका रूपमा रहेको नवलपरासी सिङ्गो जिल्ला हुँदा अति विकट क्षेत्रका तत्कालीन अवस्थाका १७ गाउँ विकास समिति हाल सङ्घीयतापछि दुई जिल्लामा विभाजन भएपछि दुई गाउँपालिका बनेको पहाडी क्षेत्रमा ५४ हजार जनतालाई प्रत्यक्ष मधेशसँग जोड्ने गरी निर्माण सुरु भएको सडकको ट्र्याक खुले पनि स्तरोन्नति हुन नसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष ओझाले बताउनुभयो । 

३६ वर्षअघि २०४५ सालदेखि सुरु भएको पहिलो चरण अन्तर्गत बुलिङटार–धौवादी–दलदले ४३ किलोमिटर सडकको ट्र्याक खोल्न मात्रै झन्डै २० वर्ष लाग्यो । ट्र्याक खुले पनि सो बाटो वर्षा लाग्नासाथ भत्कने, बिग्रने जस्ता धेरै कारणले पनि राम्रोसँग चल्न नसकेको बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष प्रेमबहादुर थापामगरले बताउनुभयो ।

तत्कालीन गाविस र जिल्ला विकास समितिले हरेक वर्ष बाटो स्तरोन्नतिका लागि करोडौँ रकम विनियोजन गरे पनि सडकले स्थायित्व लिन नसक्दा र वर्षा हुनासाथ भत्केर पहिरोले लैजाने गर्दा सयौँ यात्रुले यो सडकमा अकालमै ज्यान गुमाउन पुगेका बुलिङटारका स्थानीय समाजसेवी भविलाल रानामगरले बताउनुभयो । 

पहाडी क्षेत्रका बासिन्दाले मधेशलाई पूर्वी नवलपरासीको अहिलेका पहाडी गाउँपालिकासँग जोड्ने गरी निर्माण सुरु गरिएको दलदले–धौवादी–बुलिङटार–बौदीकाली सडक अहिले पनि जेनतेन सञ्चालनमा आए पनि यसको स्तरोन्नति हुन अझै नसक्नु दुःखको विषय बनेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरले बताउनुभयो । 

कसरी सुरु भएको थियो सडक निर्माण ? 

अस्ट्रेलियाली नागरिक सेफर्ड बारबारा गेरीले सुरुमा तत्कालीन अर्खला गाउँ विकास समिति हाल बुलिङटार गाउँपालिका–४, अर्खलामा पुगेका थिए । दलदलेबाट दुई दिन हिँडेर अर्खला पुगेका बारबारा दम्पती एक महिनासम्म त्यहीँ बसेका र उनीहरूले सडकको पहुँच नभएको, गाउँको अवस्था अत्यन्त कहालीलाग्दो देखेपछि यो सडक निर्माण गर्न करोडौँ खर्च गरेका स्थानीय अर्खलाका भूपाल लुङ्गेलीमगरले बताउनुभयो । 

उनीहरू अस्ट्रेलिया फर्केर यो सडक बनाउने योजनासहित नेपाल आएका र अर्खला गाउँमै घर भाडामा लिएर सडक सर्भे गर्ने र स्थानीयलाई पैसा दिएर सुरुमा अर्खलाबाट सडक खन्ने काम सुरु भएको सेतीनाग माविका प्रधानाध्यापक खिमबहादुर सुस्लिङमगरले बताउनुभयो । 

यो सडकको निर्माण सुरु भएपछि अस्ट्रेलियाली नागरिक बारबाराको एक्लो प्रयासमा २०५८ सम्म २० किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएपछि अर्खलालाई मधेशको दलदलेसम्म जोड्ने काममा सफलता मिलेको वडाध्यक्ष मीनबहादुर आलेले बताउनुभयो ।

सो सडक चल्नेभन्दा बिग्रने धेरै भएपछि पटक पटकको प्रयासपछि नेपाल सरकारले ग्रामीण कृषि सडक नामकरण गरी विश्व खाद्य सङ्गठनको सहयोगमा चामल वितरण गरेर सडक निर्माण पुनः सुरु गरेको गण्डकी प्रदेश सरकारका पूर्व कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले बताउनुभयो । 

यो सडकमा अस्ट्रेलियाली नागरिक बारबाराको जति ठुलो लगानी रहेको छ, त्यति नै नेपाल सरकारले कृषि सडकका नाममा करोडौँ खर्च गरेको र अझै स्तरोन्नति हुन नसक्दा यो सडकको प्रगति सोचेभन्दा बढी हुन नसकेको जिसीको भनाइ छ । यो सडक निर्माणमा अस्ट्रेलियाली नागरिक बारबाराको करिब एक अर्ब रुपियाँभन्दा बढि खर्च भएको छ भने नेपाल सरकारले पनि करिब त्यति नै लगानी गरेको जिसीले बताउनुभयो ।