• १२ पुस २०८१, शुक्रबार

गाउँ गाउँमा देवाली पर्वको रौनक

blog

फाइल तस्बिर ।

बिजुवार समाचारदाता

बिजुवार, मङ्सिर २६ गते । प्युठानका विभिन्न गाउँमा देवालीको रौनक बढेको छ । सबैले आआफ्ना कुलको पूजा गर्ने भएकाले देवाली पर्वलाई यहाँ ठुलो महत्वका साथ मनाइने गरिन्छ ।

नयाँ पुस्ताले समेत आफ्नो संस्कृति भन्दै देवालीको वर्ष देशविदेशबाट घरमा आएर देवाली मनाउने गर्नाले मङ्सिर महिनामा जिल्लाका विभिन्न गाउँमा देवालीको चहलपहल हुने गरेको स्थानीय महेश थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आफन्तबिच भेटघाट र आशीर्वाद थाप्ने पर्व पनि हो । यो पर्वमा देशविदेशमा छरिएर रहेका दाजुभाइ जन्मभूमिमा भेला भई आफ्नो कुलको पूजा गर्ने गर्छन् ।” यो परम्परा पुस्तौँदेखि चलिरहेकोसमेत उहाँले सुनाउनुभयो ।

देवालीमा कुलदेवतालाई चढाउने भन्दै सबैले बोका काट्ने चलन छ । यसरी चढाएको बोका प्रसादका रूपमा आफन्त र इष्टमित्रलाई घरमा पाहुना बोलाएर खुवाउने प्रचलन छ । देवाली पर्व मनाएर आफ्ना कुलदेवताको पूजाआजा गरी आशीर्वाद लिने गरिन्छ । जिल्लामा दसैँतिहारभन्दा पनि बढी महत्वका साथ यो पर्व मनाइने गरिएको थापाले सुनाउनुभयो । 

जिल्लामा यो वर्ष विष्ट, पोख्रेल, खड्का, केसी, नेपाली, पुन, घर्ती, बस्नेत, थापालगायत गाउँबस्तीमा विभिन्न देवाली पर्वको रमझम छाएको छ । मङ्सिर पूर्णिमामा खैराका बस्नेतहरूले र पञ्चमी तिथिमा दाखाक्वाडीका विष्टले देवाली गरेका छन् । पाण्डेडाँडाका पाण्डेले पनि देवालीको तयारी गरेका छन् ।

त्यस्तै माडी क्षेत्रका रेग्मी, खनाल, पोख्रेल, अधिकारीलगायतले देवाली सम्पन्न गरेका छन् । खबाङमा घर्ती, पुन, टोमटा, परियार, सुनार र नेपालीले देवाली पर्व सम्पन्न गरिसकेका छन् । खबाङमा यस वर्ष सबै थरका जातजातिले एकै ठाउँमा भुमैपूजा भन्दै देवाली पर्व सम्पन्न गरिसकेका स्थानीयले बताएका छन् । यहाँ झन्डै पाँच सय बोका र कुखुराको बलि दिइएको स्थानीय ईश्वर थापाले बताउनुभयो । सयौँ धामी देखिने लुङखोलाको देवाली पर्व जिल्लाभरि नै प्रसिद्ध छ । यस्तै गौमुखी क्षेत्रमा पनि भुमेपूजासहित देवाली सम्पन्न भएको स्थानीयले बताएका छन् । 

जिल्लामा हुने भण्डारीहरूको लुप्लुङको देवाली, लुङको रिजाल, केसी बन्धुको देवाली पनि जिल्लामा निकै लोकप्रिय मानिन्छन् । लुप्लुङलाई भण्डारीहरूको उद्गम स्थल मानिने भएकाले उनीहरूका लागि यो ठाउँ महत्वपूर्ण मानिन्छ । जिल्लामा लम्छ्याङ, लुङ, लुप्लुङ, भिङ्गृ, खैरा, पाण्डेडाँडा, खैराको बस्नेत परिवारको देवाली सबैभन्दा बढी धामी हुने र बोकाको बलि पर्ने देवालीमा मानिन्छ । यहाँ देवालीलाई विभिन्न थर अनुसार कुलपूजा, मष्टोपूजा, वराहपूजा भन्ने गरिन्छ । 

मुख्यतया वैशाख पूर्णिमा, वैशाख चतुर्दशी, ज्येष्ठ पूर्णिमा एकादशी, द्वादशी, मार्ग अष्टमी र पूर्णिमा, पौष पूर्णिमा, भाद्र अनन्ते चतुर्दशी र भाद्र पूर्णिमाको सेरोफेरोमा पनि विशेष पूजा गर्ने गरिन्छ । यस जिल्लामा देवालीलाई सांस्कृतिक तथा धार्मिक रूपमा समेत महत्वपूर्ण मानिन्छ ।