• ११ पुस २०८१, बिहिबार

धरानमा ‘बिजनेस एक्स्पो’ हुने

blog

धरान समाचारदाता 

धरान, मङ्सिर २६ गते । धरान उपमहानगरपालिकाको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ आयोजना हुने भएको छ ।  बिजनेस एक्स्पो नेपाल उद्योग व्यवसायी महासङ्घ धरान नगर समितिको आयोजनामा आगामी माघ २६ देखि फागुन १० गतेसम्म सांस्कृतिक, साङ्गीतिक कार्यव्रmमसहित धरान रङ्गशालामा गर्न लागेको सङ्घका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिनुभयो । धरानमा सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्दै आएको एक्स्पोबाहेक यो छुट्टै पहिलो व्यापारिक मेला रहेको उहाँले बताउनुभयो । 

सङ्घसंँग संयुक्त रूपमा एक्स्पो आयोजना गर्ने प्रस्ताव गरिए पनि सङ्घले आफ्नै एक्स्पो गर्ने बताएपछि महासङ्घले त्यसअघि नै बिजनेस एक्स्पो गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । एक्स्पोले धरानको आर्थिक गतिविधिमा आएको सुस्ततालाई नयाँ गति दिँदै व्यावसायिक, पर्यटन, उद्योगको क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्न भूमिका खेल्ने आयोजकले जनाएको छ । व्यापार मेलाले स्थानीय साना घरेलु, मझौला तथा ठुला उद्योग व्यवसायमा लगानीको सम्भावना बढाउने आयोजकको भनाइ छ ।

एक्स्पोमा सहभागी हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक उत्पादक व्यवसायीसँग अनुभव आदानप्रदान गरी धरानमा लगानी आकर्षित गर्न सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । लगानी सम्भावना स्थलको खोजीमा रहेकाहरू पहिचान गर्ने अवसरका रूपमा पनि एक्स्पोले उपलब्धि दिने उहाँले बताउनुभयो । एक्स्पोमा औद्योगिक प्रदर्शनी तथा खरिद बिव्रmी हुने छ । कृषि उत्पादनको प्रदर्शनी एवं खरिद बिक्री हुने छन् । गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल, खेलौना, ज्वेलरीका उत्पादनको बिक्री तथा व्यावसायिक कारोबार हुने आयोजकको भनाइ छ । 

एक्स्पोमा निर्माण कार्यसम्बन्धी र कृषि औजारका सामग्री, प्रविधि, उपकरण, इलेक्ट्रोनिक्सका सामग्रीको प्रदर्शनी तथा बिक्री हुने, एक नगरपालिका एक उत्पादनका स्टल रहने, आइटी तथा डिजिटल सूचना प्रविधि प्रदर्शनी तथा जानकारी दिइने व्यवस्थासमेत गरिने आयोजको भनाइ छ । साथै उद्योग, व्यवसायको प्रवर्धनका लागि आर्थिक विश्लेषण कार्यशाला गोष्ठी, निकासीयोग्य स्थानीय उत्पादन, वस्तुको प्रवर्धन विषयक उद्योगी, व्यवसायीका लागि गोष्ठी आयोजना गरिने छ । एक्स्पोमा नयाँ प्रविधिका अटोमोबाइल प्रदर्शनीसमेत हुने छन् ।

एक्स्पोमा आउने सर्वसाधारण उपभोक्ताको मनोरञ्जनका लागि दैनिक राष्ट्रिय कलाकारका साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । बालबालिकाका लागि बाल उद्यान र प्रतिभा प्रस्फुटनका कार्यक्रम सञ्चालन गरिने छ 

धरानमा सञ्चालित कम्पनीमार्फत प्याराग्लाइडिङ, -याफ्टिङ, साइक्लिङका साहसिक तथा रोमाञ्चक खेलको अग्रिम बुकिङको व्यवस्था हुने आयोजकले जनाएको छ । फ्लोरीकल्चर तथा फूलको प्रदर्शनी, बिरुवा बिक्री, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री र जातीय मौलिक परिकारका खानपिनका स्टल पनि रहने छन् ।

एक्स्पोमा कुल स्टल ३५० को सङ्ख्यामा रहने व्यापार मेलाका मूल संयोजक राजेश अग्रवालले बताउनुभयो । एक्स्पोमा दुई साताभरिमा १० लाखको सङ्ख्यामा किनमेल, सांस्कृतिक कार्यक्रममा दर्शक आउने अनुमान गरिएको उहाँले बताउनुभयो । एक्स्पोलाई सङ्घीय सरकारका मन्त्रालय, कोशी प्रदेश सरकार, पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको सहयोग र प्रवर्धन रहने आयोजकले जनाएको छ । 

कम्प्युटर सफ्टवेयर एसेस फेस्टको तयारी 

यसैबिच पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पाँचदिने कम्प्युटर सफ्टवेयर आइटीका विद्यार्थीको प्रतिस्पर्धात्मक एसेस फेस्ट हुने भएको छ ।

धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा फेस्ट क्याम्पसका विद्यार्थीको एसोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा मङ्सिर २६ देखि २९ गतेसम्म सञ्चालन हुने एसेसका अध्यक्ष दिनेश नेपालले बताउनुभयो । आइटीका विद्यार्थीबिच प्रतिस्पर्धात्मक क्षमता विकासका लागि उत्प्रेरणा बढाउन एसेसले फेस्टको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । 

फेस्टमा धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाडौँ, बुटवललगायत नेपालका सबै ठाउँबाट सहभागी आउने आयोजकले जनाएको छ । यस वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी फेस्टमा प्रतिस्पर्धा गर्न आउने अनुमान गरिएको आयोजकले जनाएको छ । 

फेस्टमा अवलोकन गर्न आइटीका व्यवसायी, प्रयोगकर्ता सर्वसाधारणको उत्तिकै सहभागिता हुने अध्यक्ष नेपालले बताउनुभयो । फेस्ट आइटी एजुकेसन प्रवर्धन, अवसर र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आयोजनालाई निरन्तरता दिइएको उहाँको भनाइ छ । फेस्टमा आइटी विद्यार्थीले आआफ्नो विभिन्न प्रोजेक्ट प्रदर्शन गर्ने छन् । प्रोजेक्ट हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालयबाट विद्यार्थी आउने गरेका छन् । फेस्टमा आइटीसम्बन्धी विभिन्न स्टल रहने आयोजकले जनाएको छ । आइटीको क्षेत्रमा रुचि भएका विद्यार्थीका लागि फेस्ट उपयोगी रहँदै आएको छ ।