• ११ पुस २०८१, बिहिबार

सङ्खुवाखोलामा चार बैङ्कले लगानी गर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २६ गते । सङ्खुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैङ्क इन्टरनेसनलको अगुवाइमा चार बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा छ अर्ब १५ करोड रुपियाँ सहवित्तीयकरणमार्फत लगानी गर्न निर्माण कम्पनी र बैङ्कबिच सोमबार वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।

गुराँस हाइड्रो लिमिटेडले सङ्खुवासभा र भोजपुरको सिमाना क्षेत्रमा बनाउन लागेको ४१.०६ मेगावाटको सो आयोजना निर्माणको प्रारम्भिक कार्य सुरु भइसकेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार आयोजनामा सिटिजन्स बैङ्कले दुई अर्ब ९० करोड, एभरेस्ट बैङ्कले एक अर्ब २५ करोड, नेपाल एसबिआई बैङ्कले एक अर्ब २५ करोड र सानिमा बैङ्कले ७५ करोड रुपियाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो । 

सम्झौतापत्रमा सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रवर्धक कम्पनीका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गर्नुभयो । आयोजना निर्माण सम्पन्न गर्न आठ अर्ब २० करोड रुपियाँ लागत अनुमान गरिएको छ, जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने छ । 

विद्युत् विकास विभागले २०७६ असार २४ मा अध्ययन अनुसन्धान, इआइएसमेत गरी सरकारको बास्केटमा राखेको थियो । आयोजनाबाट उत्पादित विद्युत् २२०/१३२ केभी शीतलपाटी सबस्टेसनमा जोडिने छ ।