• ७ वैशाख २०८२, आइतबार

मानव सेवा आश्रमका लागि महायज्ञ

blog

सुर्खेत समाचारदाता

सुर्खेत, मङ्सिर २५ गते । सुर्खेतमा मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन बनाउन श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । गत शुक्रबारदेखि सुरु भएको महायज्ञमा आइतबारसम्म करिब ५० लाख रुपियाँ आर्थिक सङ्कलन भएको बताइएको छ । दैनिक लाखौँ रकम सङ्कलन भइरहेको छ भने कतिपयले आश्रम भवनको एक एक कोठा निर्माण गरिदिने कबुलसमेत गरिरहेका छन् । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग सञ्चालन हुँदै आएको छ । योग कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालसहित छ सयभन्दा बढी व्यक्तिको सहभागिता हुँदै आएको छ । नगरप्रमुख ढकालले आश्रमको साथ सदैव रहेको र भवन निर्माणका लागि नगरपालिकाबाट एक करोड रुपियाँ नगरपालिकाले व्यवस्था गरेको प्रतिबद्धता जनाउनुभयो । 

महायज्ञ आयोजक मूल समितिका संयोजक डा. नवराज केसीले एउटा कोठा निर्माण गर्ने रकम ६ लाख रुपियाँ सहयोग गर्नुभएको छ । डा. केसीले महायज्ञमा दाताको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । संयोजक डा. केसीले महायज्ञबाट पाँच करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य लिइएको बताउनुभयो ।