• ७ वैशाख २०८२, आइतबार

आवासीय विद्यालय भवन निर्माण

blog

हुम्लामा निर्माणाधीन आवासीय विद्यालय भवन ।

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर २५ गते । प्रदेश सरकारले दुर्गमका आवासीय विद्यालय भवन निर्माणलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षबाट स्थानीय तहबाटै कार्यान्वयन हुने गरी भवन निर्माणको योजनाले निरन्तरता पाएको हो । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रम कार्यान्वयनको जिम्मा अब स्थानीय सरकारले लिने छन् ।

विगतका आवमा जिल्लाका समाजिक विकास कार्यालयमार्फत उक्त भवन निर्माण भइरहेको थियो । यो वर्षबाट पालिकामा बजेट पठाउन थालिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो वर्ष पाँच जिल्लाका पाँच वटा पालिकामा बजेट पठाइसकिएको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो । उहाँका अनुसार कालीकोटको पलाँता गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, मुगुको कार्मारोङ गाउँपालिका र डोल्पाको काइके गाउँपालिकामा बजेट पठाइएको हो । प्रत्येक पालिकामा ५० लाख रुपियाँका दरले बजेट पठाइएको छ ।

चालु आवबाट भवन निर्माणको काम सम्बन्धित पालिकाले गर्ने छ । पालिकाबाट भवन निर्माणको काम गर्दा प्रभावकारी हुने देखिएपछि यो वर्षबाट पालिकामा बजेट पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पाँच वटा विद्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यो वर्षबाट पालिकाबाट बजेट कार्यान्वयन हुने मन्त्रालयका उपसचिव जवाहरलाल हमालले बताउनुभयो । उहाँका अनुसार पालिकाले समेत अपनत्व लिने भएकाले बजेट पालिकामा पठाइएको हो । 

प्रदेश सरकारले आव २०७७/७८ देखि साबिक कर्णालीका पाँच जिल्लामा एक/एक विद्यालय निर्माणको अवधारणा ल्याएको थियो । दुर्गम हिमाली जिल्लामा घण्टौँ हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणा अनुसार काम अघि बढाइएको थियो । चार आर्थिक वर्षमा जिल्ला जिल्लाका सामाजिक विकास कार्यालयहरूबाट आवासीय विद्यालय भवन निर्माणको काम हुने गरेको थियो । प्रदेश सरकारले चालु आवदेखि सम्बन्धित पालिकाबाट बजेट कार्यान्वयन हुने गरी पालिकामा बजेट पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आवश्यकता र अपनत्व लिने गरी यो वर्षदेखि स्थानीय तहमै बजेट पठाइएको छ । साबिक कर्णालीका कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्लामा एउटा एउटा नमुना आवासीय विद्यालयको मापदण्डमा रहेर भवन निर्माण भइरहेका छन् ।

पालिकाबाट सम्झौताको तयारी

विद्यालय भवन निर्माणका लागि पालिकाबाट सम्झौता हुने छन् । क्रमागत योजना अनुरूप आवासीय भवन निर्माण भइरहेका छन् । प्रत्येक वर्षमा एउटा एउटा ब्लक निर्माण हुने गरेका छन् । कालीकोटको पलाँता गाउँपालिका–९ मा आवासीय विद्यालयको भवन निर्माण भइरहेको छ । सम्झौता गरेर यो वर्ष काम अघि बढाउन लागिएको गाउँपालिकाले जनाएको छ । 

यो वर्षबाट पालिकाबाटै कार्यान्वयन हुने गरी भवन निर्माण गर्न लागिएको पालिकाका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्राविधिकले आवश्यक नापजाँच गरेपछि सम्झौता गरिने छ । यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, खिच्चेनीमा आवासीय विद्यालय भवन निर्माण भइरहेको छ । यो वर्ष पालिकाबाटै ठेक्का सम्झौता गरेर काम अघि बढाउन लागिएको शिक्षा शाखा प्रमुख जीवन रोकायले बताउनुभयो । उहाँका अनुसार यो वर्ष पालिकामा ५० लाख रुपियाँको बजेट आएकोमा मुगुको कार्मारोङ गाउँपालिका–३ मा विद्यालय भवन निर्माण भइरहेको छ । 

प्रत्येक वर्ष बजेट कटौती

नमुना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न पाँच वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा कटौती भएको छ । सुरुको आव २०७७/७८ मा पाँच जिल्लाका पाँच विद्यालयमा एक एक करोड भवन निर्माणका लागि बजेट दिएको थियो । भवन निर्माणको निरन्तरताका लागि आव २०७८/७९ मा ८०/८० लाख रुपियाँका दरले बजेट सरकारले दिएको हो । तेस्रो वर्ष आव २०७९/८० मा भवनको निरन्तरताका लागि ५० लाख रुपियाँका दरले प्रदेश सरकारले बजेट पठाएको थियो । चौथो वर्ष २०८०/८१ मा पनि ५० लाख रुपियाँ भवनको निरन्तरताका लागि दिइएको छ । चालु आव २०८१/८२ मा उक्त कार्यक्रमको निरन्तरताका लागि ५०/५० लाख रुपियाँका दरले बजेट पालिकामा पठाइएको छ ।