• २० मंसिर २०८१, बिहिबार

चीनमा ६३ वर्षयताको सबैभन्दा गर्मी

blog

बेइजिङ, मङ्सिर  १९ गते । चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो । 

वैज्ञानिकहरूका अनुसार हरित गृह ग्याँस उत्सर्जनको प्रमुख उत्सर्जनमध्ये एक चीन भएको र यसले विश्वव्यापी जलवायु परिवर्तनलाई बढावा दिइरहेको छ, जसले चरम मौसमी दुर्घटनालाई अझ बढी नियमित बनाइरहेको छ ।

बेइजिङले सन् २०३० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई उच्च बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

केन्द्रले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा उल्लेख गरेको छ, “यस वर्षको शरद् ऋतु (सेप्टेम्बर १ देखि नोभेम्बर ३०) मा राष्ट्रिय औसत तापक्रम ११.८ डिग्री सेल्सियस थियो । यो औसत वर्षको तुलनामा १.५ डिग्री बढी हो र यो सन् १९६१ यताकै सबैभन्दा बढी हो।” 

चीनको अधिकांश क्षेत्रमा औसतभन्दा १ देखि २ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ भने मध्य, पूर्व, दक्षिणपश्चिम र उत्तरपश्चिम चीनका केही भागमा अघिल्लो वर्षको तुलनामा २ देखि ४ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार लियाओनिङ, तियानजिन र चोङकिङलगायत १६ वटा प्रान्त र क्षेत्रमा सन् १९६१ यताकै सबैभन्दा उच्च औसत शरद ऋतुको तापक्रम रेकर्ड गरिएको छ ।

चीनले सन् १९६१ यताकै सबैभन्दा गर्मी अगस्टमा आफ्नो उत्तर र पश्चिमका अधिकांश भूभागमा अत्यधिक गर्मीको सामना गर्नुपरेको केन्द्रले सेप्टेम्बरमा जनाएको थियो ।  रासस, एएफपी