• २० मंसिर २०८१, बिहिबार

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : खेलकुदमन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी । फाइल तस्बिर

गण्डकी, मङ्सिर १९ गते। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताउनुभयो। साना–साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले त्यसबाट अधिकतम युवा लाभान्वित हुनसक्ने विश्वास व्यक्त गर्नुभयो।

पोखरामा खेलप्रेमीको उत्साह देखिएको उल्लेख गर्दै मन्त्री मन्त्री चौधरीले यहाँको पूर्वाधार विकासलगायतमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो।उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको भन्दै उहाँले एकताबद्ध रूपमा पार्टी सङ्गठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो।