वसन्त पराजुली
नारायणगढ, मङ्सिर १९ गते । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्ने र बिना सर्त रिहाइ गर्नुपर्ने मागसहितको छुट्टाछुट्टै र्याली भरतपुरमा निकालिएकाे छ ।
रिहाइको माग गर्ने उहाँका समर्थकहरुले अहिले जिल्ला प्रहरी कार्यलय अगाडि प्रदर्शन गरी नाराजुलुस गरिरहेका छन् । जुलुसपछि ढुङ्गा प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास अनि लठ्ठी प्रहार गरेका छन् ।
प्रहरी र प्रदर्शनकारी बिचको झडप अहिले पनि जारी छ । उनीहरुले लामिछाने निर्दोष रहेको र राजनैतिक पूर्वाग्रहका कारण थुनामा रहेकाले निःशर्त छाडिनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । उता जिल्ला समन्वय समिति अगाडि निस्किएको सहकारी पीडितहरुको र्याली भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरुलाई कारबाहीको माग गरेका छन् ।
सहकारी पीडित र रवि समर्थकहरुको भेट नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रदर्शनकारीहरुलाई पानीको फोहोरा हानेको छ ।
लामिछानेलाई मङ्गलबार बयानका लागि चितवन ल्याइएको चितवनका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । लामिछानेको बयान दोस्रो दिन पनि जारी छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारीमा बचत कर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि चितवन ल्याइएको हो ।
यस सहकारीबाट रु. ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक मिश्रका अनुसार हिनामिना भएको रकममध्ये रु. १० करोड ८० लाख गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । यसअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका बचत अपचलन गरेको आरोपमा बयान सकिएकाे छ ।
लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबिच धकेलाधकेल भएको थियो ।
चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मङ्सिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए। मङ्सिर ७ गते चितवनमा पक्राउ पुर्जी जारी गरिएको थियो ।