• १९ मंसिर २०८१, बुधबार

एआईले सन् २०२४ मा चुनावलाई प्रभावित गरेको कुनै सङ्केत छैन : मेटा

blog

सान फ्रान्सिस्को, मङ्सिर १९ गते । मेटाले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले विश्वभरका मतदाताहरूलाई भ्रमित गर्न सञ्चार माध्यममा झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित नभएको बताएको छ ।

मेटा ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले मङ्गलबार पत्रकारहरूलाई कम्पनीको प्लेटफर्ममा भ्रामक प्रभाव अभियानविरुद्ध सुरक्षा मजबुत रहेको र त्यस्ता समन्वित प्रयासहरूले अनलाइनमा ध्यान आकर्षित नगरेको बताउनुभयो ।

“मेरो विचारमा जेनेरेटिभ एआई तिनीहरूका लागि हाम्रो सुरक्षा प्रणालीबाट छल्न प्रभावकारी उपकरण थिएन”, क्लेगले समन्वित झुटो सूचना अभियानका पछाडि रहेकाहरूका बारेमा भन्नुभयो, “अपेक्षा र वास्तविकता बिचको अन्तर धेरै महत्त्वपूर्ण छ ।”

मेटाका अनुसार यसले हालै अवरुद्ध गरेका अधिकांश प्रभाव अभियानहरू रुस, इरान र चीनका कर्ताहरूद्वारा सञ्चालित थिए । जेनेरेटिभ एआई उपकरणहरू झन् परिष्कृत र व्यापक हुने अपेक्षा गरिएकाले मेटाको आफ्नो सतर्कता कम गर्ने कुनै इरादा छैन ।

क्लेगले सन् २०२४ लाई अहिलेसम्मको सबैभन्दा ठुलो चुनावी वर्ष भन्नुभयो । यो वर्ष विश्वभरका धेरै देशमा करिब दुई अर्ब मानिसले मतदान गरेको अनुमान गरिएको छ ।

“यस वर्षको अवधिमा हुने चुनावमा जेनेरेटिभ एआईले पार्ने सम्भावित प्रभावका बारेमा मानिसहरू चिन्तित थिए”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “व्यापक गहिरो नक्कली र एआई सक्षम गलत सूचना अभियानहरू जस्ता चिजहरूको सम्भावित जोखिमहरूको बारेमा सबै प्रकारका चेतावनीहरू थिए ।”

क्लेगका अनुसार चुनावमा जेनेरेटिभ एआईको दुरुपयोग रोक्न उद्योगव्यापी प्रयास भयो ।

मेटाका मुख्य कार्यकारी मार्क जुकरबर्ग र राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले गएको साता ट्रम्पको फ्लोरिडा रिसोर्टमा मेटाको सामग्री नियन्त्रण नीतिबारे छलफल गर्नुभएको बारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।

प्लेटफर्मले राजनीतिक रूपमा रूढीवादी दृष्टिकोणलाई सेन्सर गरेको आरोप लगाउँदै ट्रम्पले मेटाको आलोचना गर्नुभएको छ ।

“मार्क प्राविधिक क्षेत्रमा अमेरिकाको नेतृत्व कायम राख्नका लागि कुनै पनि प्रशासनले गर्नुपर्ने बहसमा सक्रिय भूमिका खेल्न धेरै उत्सुक हुनुहुन्छ... र विशेष गरी एआईले त्यस क्षेत्रमा खेल्ने महत्त्वपूर्ण भूमिकाका बारेमा”, क्लेगले भन्नुभयो । रासस/एएफपी