दुबई, मङ्सिर १८ गते । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ ।
गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याको अपराधीलाई मृत्युदण्ड दिएको जनाएको छ ।
राज्य सञ्चार माध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कुल सङ्ख्या ३०३ पुर्याएको छ ।
खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो । यसले हालका हप्ताहरूमा मृत्युदण्डको गति तीव्र रहेको देखाउँछ ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा साउदी अरेबियाले चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीहरूलाई मृत्युदण्ड दिएको थियो ।
यसअघि सन् २०२२ मा देशमा एकै वर्षमा मृत्युदण्डको रेकर्ड सङ्ख्या १९६ पुगेको थियो । लन्डनस्थित मानव अधिकार समूहले सन् १९९० मा वार्षिक तथ्याङ्क दर्ता गर्न थालेको बताएको छ ।
बर्लिनस्थित युरोपियन साउदी अर्गनाइजेशन फर ह्युमन राइट्स (इएसओएचआर) का कानुनी निर्देशक ताहा अल–हज्जीले सन् २०२४ मा मृत्युदण्डको ‘रकेट गति’ को निन्दा गर्दै यसलाई ‘बुझिन नसक्ने र अस्पष्ट’ भन्नुभएको छ ।
मानव अधिकारकर्मीहरूले पहिले साउदी अरेबियाले यस वर्ष ३०० भन्दा बढी मृत्युदण्ड दिन सक्ने चेतावनी दिएका थिए । प्रतिदिन करिब एउटा मृत्युदण्ड दर्ता भइरहेको छ । रासस, एएफपी