धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर १८ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको विकास र समृद्धिमा दातृ निकायको स्थान महत्त्वपूर्ण रहने बताउनुभएको छ। उहाँले दातृ निकायसँगको छलफलमा प्रदेशको आवश्यकता अनुसार कार्यक्रम तयार गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्लान इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनसहित विभिन्न देशका प्रतिनिधिसँगको छलफलको क्रममा उहाँले यस्तो बताउनुभएको हो।उहाँले ६३ लाख जनसङ्ख्या भएको मधेश प्रदेशमा शिक्षा, स्वास्थ्यसहित जलवायु परिवर्तनका कारण पार्ने प्रभावका विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।दातृ निकायले यो क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेकोमा उहाँको जोड छ।
छलफलमा सहभागी मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यार्थीको जनसङ्ख्या अनुसारको शिक्षकको व्यवस्थापन गर्न नसकेको कारण पनि गुणस्तरीय शिक्षा दिनमा समस्या भएको बताउनुभयो।मधेश प्रदेशमा एक सय विद्यार्थीमा एक जना शिक्षकको दरबन्दी रहेकोले शिक्षक सङ्ख्या बढाउनु पर्नेमा जोड दिनुभयो।
नीति आयोग मधेश प्रदेशका उपाध्यक्ष सोहन साहले मधेश प्रदेशले सबै भन्दा बढी रेमिट्यान्स ल्याए पनि विकासमा पछि परेको भन्दै दातृ निकायले मधेश प्रदेशमा लगानी गर्नु एउटा अवसर भएको बताउनुभयो।
छलफलपछि प्लान इनटरनेशनलका प्रमुख कार्यकारी अधिकृत डेबीले सरकारले निर्धारण गर्ने विषयवस्तुलाई सघाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।छलफलमा प्लान इन्टरनेशनल पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका प्रमुख रवि पण्डित, प्लान इन्टरनेशनलका एसिया प्यासिफिक निर्देशक भाग्यश्री देङ्गले, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किसनसहित विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको थियो।