चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १८ गते। झापाको न्यु स्टार क्लब बिर्तामोड, ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मङ्गलबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनल पुगेको हो।
आयोजक चासोक तङ्नाम सञ्चालन समितिका अनुसार मङ्गलबारको खेलमा विजयी भएसँगै न्यु स्टार प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ। यसअघि सुनसरी धरानको गोधुली फुटबल क्लब, इलामको रेड डेभिल्स माइजोगमाई र तेह्रथुमको सम्दु फुटबल क्लब सेमिफाइनल पुगेका छन्।
प्रतियोगितामा सेमिफाइनल चरणको पहिलो खेल बुधबार तेह्रथुमको सम्दु फुटबल क्लब र गोधुली फुटबल क्लब धरानबिच हुने समितिका संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभयो। यस्तै दोस्रो खेल बिहीबार न्यु स्टार क्लब बिर्तामोड र रेड डेभिल्स माइजोगमाई इलामबिच हुने छ। प्रतियोगिताको फाइनल भने शनिबार हुने आयोजकले जनाएको छ।
लिम्बू जातिको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने समिति संयोजक थेबेले जानकारी दिनुभयो।