• १७ मंसिर २०८१, सोमबार

गोरखापत्रबाट सापकोटाको बिदाइ

blog

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीले विदाइ हुनुभएकी सापकोटालाई मायाको चिनो प्रदान गर्नुहुँदै । तस्विरः मनोजरत्न शाही

काठमाडौं, मङ्सिर १७ गते । गोरखापत्रको बुहभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएका मञ्जु सापकोटालाई बिदाइ गरिएको छ । गोरखापत्र संस्थानमा सोमबार एक कार्यक्रम गरी उहाँको बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सापकोटा भावी दिनमा गोरखापत्रको आजीवन सदस्यका रुपमा रहनुहुने विश्वास व्यक्त गर्नुभयो । सापकोटाले दिनुभएको योगदानलाई संस्थानले सदैव सम्झना एवम्  सम्मान गर्ने भन्नुहुँदै उहाँले आगामी दिनमा सापकोटाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले उहाँप्रति सम्मानसहित धन्यवाद ज्ञापन गर्नुभयो । संस्थानमा सकारात्मक छाप राख्न सफल हुनुभएको भन्नुहुँदै उहाँले सापकोटाको ऊर्जाशील एवम् सकारात्मक व्यक्तित्वको समेत प्रशंसा गर्नुभयो ।

यस्तै, संस्थानका बोर्ड सदस्य राजु महतले सापकोटाको अवकाशपछिको जीवन पहिलेजस्तै सुखमय एवम् स्वस्थ रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

निमित्त नायव महाप्रबन्धक यमप्रसाद कँडेलले विदाइ हुनुभएकी सापकोटाको भावी जीवनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । गोरखापत्र नयाँ नेपाल पृष्ठका संयोजक विवेकानन्द मिश्रले बहुभाषामा काम गर्दा निकै अनुभव बटुल्नुभएको सापकोटाको बिदाइले क्षणिक क्षति पुगेको भन्नुहुँदै आगामी दिनमा सफलताको शुभकाममना दिनुभयो ।

सापकोटा २०४६ भदौ ५ गतेबाट चौथो तह टाइपिष्टबाट सेवा प्रवेश गर्नुभइ हाल गोरखापत्रको बहुुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा सहायक कम्प्युटर अधिकृत (छैठौं तह) मा कार्यरत हुनुहुन्थ्यो । ३५ वर्ष तीन महिना एक दिन सेवा पुर्‍याउनुभएका सापकोटाले सेवा अवधि बाँकी रहँदै मङ्सिर ७ गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिनुभएको थियो ।संस्थानका अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले सापकोटालाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गर्नुभयो ।

गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, ‘द राइजिङ नेपाल’ का निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, उत्पादन विभागका निमित्त निर्देशक ओम भुसाल, प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, कर्मचारी प्रशासन शाखा प्रमुख नरेन्द्रबहादुर श्रेष्ठ, मधुपर्क मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरीले उहाँलाई खादा टीका लगाएर बिदाइ गर्नुभयो ।