• १७ मंसिर २०८१, सोमबार

जिसस प्रमुखमा निर्वाचित भुलद्वारा पदभार ग्रहण

blog

जिसस प्रमुखको कार्यभार सम्हाल्नुहुँदै टीका चौधरी भुल । तस्बिरः अविनाश चौधरी

सुदूरपश्चिम ब्युरो

धनगढी, मङ्सिर १७ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भएका उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कैलालीमा जिल्ला समन्वय समितिको प्रमुख निर्विरोध भएकोमा आइतबार पदभार गरिएको छ । बाजुराको स्वामीकार्तिकमा उपाध्यक्ष र अन्य स्थानमा वडाध्यक्ष पदको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

धनगढी समाचारदाताका अनुसार जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले पदभार ग्रहण गर्नुभएको छ । आइतबार पद तथा गोपनीयताको शपथग्रहणपछि उहाँले पदभार गर्नुभएको हो । यसअघि कैलाली जिल्ला अदालतमा जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले भुललाई शपथ गराउनुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तिको उपस्थिति थियो । 

निर्वाचन आयोगले भुललाई निर्वाचित भएको प्रमाणपत्र पनि आइतबार नै प्रदान गरेको थियो । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । प्रमुखका लागि कांग्रेसका तर्फबाट भुल र नागरिक उन्मुक्ति पार्टीका रुक्मती थारू गरी दुई जनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भुल जिसस प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ कैलारी गाउँपालिका–२ को वडा सदस्य हुनुहुन्थ्यो । 

बाजुरामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न 

बाजुरा समाचारदाताका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्वक भएको छ । निर्वाचनमा तीन हजार ९०३ अर्थात् ५२.३१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकामा सात हजार ४६० मतदाता भए पनि दुई हजार महिला र एक हजार ९०३ पुरुष गरी जम्मा तीन हजार ९०३ जनाले मतदान गरेका निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतले बताउनुभयो ।

उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपा (एमाले) बाट सुलोचना बुढा, नेपाली कांग्रेसबाट, पुल्लिसरा शाही, नेकपा (एकीकृत समावादी) बाट जवा शाही उम्मेदवार रहनुभएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० माघ ४ गते निधन भएपछि स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

दार्चुलामा ६९ प्रतिशत मत खस्यो

दार्चुला समाचारदाताका अनुसार दार्चुलाको दुहुँ गाउँपालिका–५ मा उत्साहजनक रूपमा मतदान भएको छ । एक हजार २७२ मतदाता रहेको दुहुँ–५ मा करिब ६९ प्रतिशत अर्थात् ८७७ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई वटा केन्द्र रहेको दुहुँ–५, गरमोराको (क) केन्द्रमा महिला २१४ र पुरुष २२३ गरी जम्मा ४३७ मत तथा (ख) केन्द्रमा महिला २६२ र पुरुष १७८ गरी जम्मा ४४० मत खसेको छ । दुहुँ गाउँपालिका–५ का दुवै केन्द्रमा गरी वडाध्यक्ष पदका लागि जम्मा ८७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताउनुभयो । दुहुँ–५ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी छ । मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिच हुने आकलन गरिएको छ । दुहुँ–५ का तत्कालीन वडाध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

तीन हजार मत खस्यो 

कञ्चनपुर समाचारदाताका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा भएको उपनिर्वाचनमा दुई हजार ९९१ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । जिल्ला निर्वाचन अधिकारी जोशीले भन्नुभयो, “सर्वदलीय बैठकबाट मतगणनाबारे निर्णय हुन्छ ।” पाँच हजार ४३४ कुल मतदाता रहेको सो वडामा मतदाता उत्साहका साथ मतदानमा उत्रिएका थिए ।

तत्कालीन वडाअध्यक्ष महेन्द्र खड्काको २०८० पुस २६ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त थियो । अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन् । नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा (एमाले) का बहादुर चन्द, नेकपा (माओवादी केन्द्र) का नानाराम कोली, नेकपा (एकीकृत समाजवादी) का जितेन्द्रबहादुर चन्द र राप्रपाका सुशीलकुमार भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, जनमत पार्टीका यादवबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा एवं स्वतन्त्रबाट युवराज चन्द र थानेश्वर लेखक प्रतिस्पर्धामा हुनुहुन्छ । 

विसं २०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो । कांग्रेसले वडाध्यक्षमा एक हजार १०२ मत ल्याएको थियो । निकटतम प्रतिस्पर्धी एमालेका जनकराज अवस्थीले ६९८ मत ल्याउनुभएको थियो । राप्रपाका सुशीलकुमार भट्टले ४८७ र एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २३२ मत पाउनुभएको थियो ।