दोस्रो विश्वयुद्धको समाप्तिसँगै पूर्वी युरोपका तत्कालीन पूर्वी जर्मनी, चेकोस्लोभाकियालगायत आठ देश, यता एसियाका चीन, भियतनाम, मङ्गोलिया, उत्तर कोरियालगायतका देशमा क्रान्ति सम्पन्न भई नयाँ जनवादी सरकार स्थापना हुँदै गर्दा नेपालमा सन् १९४९ अप्रिल २२ तदनुसार विसं २००६ वैशाख ९ गते भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापनाको विषयमा पनि विभाजित कम्युनिस्ट पार्टीहरूको अलग अलग धारणा रहेको छ । नेकपा (एमाले) ले २२ अप्रिललाई स्थापना दिवस मान्दै आएको छ भने पुष्पलालको नेतृत्वको कम्युनिस्ट पार्टीले २००६ साल असोज ६ गते १५ सेप्टेम्बरलाई मान्दै आएको छ । यसै सन्दर्भमा पुष्पलालको निधनपश्चात् २०३५ साल असोज ६ गते १५ सेप्टेम्बरमा पार्टी स्थापनाको मितिलाई मानेर दरभङ्गामा चित्रबहादुर गुरुङ (पोखरा) को अध्यक्षतामा सङ्कटकालीन सम्मेलन सम्पन्न भएको थियो । साहना प्रधानलाई पार्टीको महासचिवमा चयन गरिएको थियो । सम्मेलनमा म आफू पनि सहभागी भएको र अस्वस्थ रहेका चित्रबहादुर गुरुङलाई पोखरादेखि दरभङ्गासम्म सँगै लैजाने काम मैले गरको थिएँ । दरभङ्गा जाने क्रममा पुष्पलालका पुराना साथीहरू र हिक्मत सिं भण्डारी, हिरण्यलाल श्रेष्ठ र केन्द्रीय कारागारमा रहेका केशरमणि पोखरेललाई भेटेर अनौपचारिक सल्लाह लिने काम भएको थियो ।
यसरी मुलुकको गरिबी र पछौटेपनबाट मुक्तिका लागि, शोषित, पीडित जनताको एक मात्र अगुवा दस्ता नेपाल कम्युनिस्ट पार्टीको स्थापना युगको मागलाई सम्बोधन गर्दै भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ वर्ष नाघिसकेको छ । यो लामो अवधिमा मुलुकको राष्ट्रिय राजनीतिमा २००७ सालको जनक्रान्ति, २००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा अब उप्रान्त मुलुकको शासन भार जनताले चुनेको प्रतिनिधिद्वारा सञ्चालन हुने छ भन्ने घोषणा, तत्पश्चात् संविधान सभा कि संसद्को चुनाव भन्ने विवाद उब्जाएर दलहरूको मतान्तरकै बिच २०१५ सालमा संसद्को निर्वाचनबाट नेपाली कांग्रेसको दुई तिहाई बहुमत, प्रतिपक्षमा गोरखा परिषद्, त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले संसद्मा प्रतिनिधित्व गराउन सफल भएको थियो । चार सिट विजयी हुनेहरूमा ललितपुरबाट तुलसीलाल अमात्य, पाल्पाबाट कमलराज रेग्मी, बारा र पर्साबाट शेख फरमान र हरदयाल महतो हुनुहुन्थ्यो । २०१५ सालमा बिपी कोइराला नेतृत्वको सरकारलाई राजा महेन्द्रद्वारा २०१७ साल पुस १ गते फौजी बलद्वारा विघटन गराई मुलुकमा निरङ्कुश शासनको पुनरावृत्ति हुन पुग्यो । संसद् विघटनपछि उक्त राजनीतिक घटनालाई हेर्ने दृष्टिकोणका बारेमा कम्युनिस्ट पार्टीका नेताहरू बिच मतान्तर रहेको थियो । जसमा पुष्पलालद्वारा विघटित संसद्को पुनस्र्थापना, तुलसीलालको सार्वभौमसत्ता सम्पन्न संसद्को पुनस्र्थापना, मोहनविक्रम सिंहको संविधान सभाको निर्वाचन र तत्कालीन महासचिव डा. केशरजङ्ग रायमाझीबाट राजाको कदमको समर्थनलगायत छोटै अवधिमा मुलुक विविध उतारचढावबाट गुजिँ्रदै गयो । यसरी पार्टी स्थापनाको दशकभित्रै मतान्तरको महाभारत सुरु भएको थियो । अन्ततः मुलकमा एउटै कम्युनिस्ट पार्टी रहन सकेन । २०१४ सालको दोस्रो महाधिवेशनबाट दक्षिणपन्थी अवसरवादको रुझान मात्र हैन खुल्लमखुला नेतृत्वमा राजावादी धारको नेतृत्व गर्ने डा. रायमाझीको नेतृत्वले पार्टीलाई बिसर्जनतर्फ लैजान थालेपछि संस्थापक महासचिव पुष्पलाल र तुलसीलालको पहलमा दोस्रो महाधिवेशनबाट छानिएका छ जनाको प्रयासमा भारत (बनारस) मा तृतीय महाधिवेशन आयोजना भयो । यता मुलुकमा संसद् विघटन भई कैयौँ नेता जेल र प्रवासको शरणमा पुगिसकेका थिए । संसद् विघटन लगतै दरभङ्गामा बसेको प्लेनमले एउटै विचार निर्माण गर्न नसकेको पनि दस्ताबेजहरूले पुष्टि गरिसकेको थियो ।
तृतीय महाधिवेशनमा पुष्पलालबाट प्रस्तुत नयाँ जनवादी कार्यक्रम पारित हुन सकेन । तुलसीलालद्वारा प्रस्तुत राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम पारित भयो । महासचिवमा तुलसीलाल चयन हुनुको विकल्प थिएन किनकि नीति कार्यक्रम तुलसीलालको थियो । त्यो समयमा राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम भनेको रुसी संशोधनवादी खु्रस्चेभको लाइन भनी आरोप लगाइएको थियो । दुर्भाग्यवश नवनिर्वाचित महासचिव तुलसीलाल र पुष्पलालबिच मतान्तरको शृङ्खला पनि सुरु भयो । यता पुष्पलालले नेपाली जनताको क्रान्तिको एक मात्र कार्यक्रम नयाँ जनवादी कार्यक्रम ‘मूल बाटो’ र तुलसीलालद्वारा ‘कुन बाटो’ जस्ता दस्ताबेजहरू सार्वजनिक गरेर मतान्तरका शृङ्खलाहरू पार्टीका तल्ला तहसम्म विस्तार सुरु भयो । त्यस क्रममा तुलसीलाल दिल्लीमा अड्डा जमाएर बस्नुभयो । यता पुष्पलालले देशभित्र तितरबितर रहेका र तृतीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा छानिएका आफू पक्षका हिक्मत सिंह भण्डारी, एकदेव आले, बलराम उपाध्याय, देवेन्द्रलाल श्रेष्ठ (काहिला बा), प्रेम प्रकाश नेपाल साथीहरू जुटाएर तितरबितर भएको सङ्गठनलाई पुनर्जीवित गर्न भगीरथ प्रयत्न गर्ने क्रममा २०२५ सालमा तेस्रो ऐतिहासिक गोरखपुर सम्मेलनद्वारा नयाँ जनवादी कार्यक्रम पारित भयो ।
विसं २०२५ तिर मनमोहन अधिकारी जेलबाट भर्खर छुटेका, गोरखपुर सम्मेलनमा अनुपस्थित यता मोहनविक्रम र निर्मल लामा भने जेलमै रहनुभएको थियो । अतः मनमोहन अधिकारी जेलबाट छुटेपछि पु्ष्पलालको नेतृत्वलाई सहज स्वीकार नगरेको देखिन्छ र पूर्वकोशी समूहको रूपमा अलग्गै रहेको पुष्पलालद्वारा लिखित पार्टीको १८ वर्षे सिंहावलोकन पुस्तकमा पूर्वकोशी गुट भनिएको छ । समयको अन्तरालपछि पूर्व कोशी समूहको धारबाटै सुरुमा भारतीय नक्सलवादीको प्रभावमा झापाली समूहको उदय हुन पुग्यो । झापाली समूहका नेताहरूमा मोहनचन्द्र अधिकारी, केपी शर्मा ओली (वर्तमान नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री), सिपी मैनाली, राधाकृष्ण मैनालीलगायतको पहल र समर्थनमा २०३५ साल पुस ११ गते माओ जयन्तीको अवसर पारेर नेकपा (माले) पार्टी स्थापना हुन पुग्यो । माथि नाम उल्लेख भएका मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी ओलीलगायतका नेताहरू जेलमा भए पनि माले स्थापनामा समर्थन रहेको दस्ताबेजले पुष्टि गरिसकेको छ । २०२८ सालमा जेलबाट छुटेपछि मोहनविक्रम र निर्मल लामाकै पहलमा विसं २०३१ नेकपा (मसाल) विधिवत् घोषणा भयो । त्यति बेलासम्म मनमोहन अधिकारी पुष्पलालको नेतृत्वको नेकपा र मसाल कतै पनि संलग्न नरहेको र पछि माले गठनमा समेत संलग्नता देखिएन । यो कुरा विगतका दस्ताबेज र घटनाक्रमले पुष्टि गरिसकेको छ । तत्कालीन समयमा नेकपा (माले) गठन गर्दा यसअघिका सबै कम्युनिस्ट पार्टीलाई संशोधनवादीको संज्ञा दिँदै नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको स्थापना भएको घोषणा गरिएको थियो । यद्यपि यो घोषणालाई नेकपा (माले) ले आफ्नो चौथो महाधिवेशनमा नै सच्याउँदै पार्टीको स्थापना २००६ साल वैशाख ९ गते अर्थात् सन् १९४९ अप्रिल २२ तारिख र संस्थापक पुष्पलाललाई नै स्वीकार गर्ने काम भएको थियो ।
यसरी २०३५ सालअगाडि २०३० को दशकमै नेपाल कम्युनिस्ट पार्टी विभाजित रूपमा अगाडि आएको थियो । २०३० सालपछि माले गठनअघि मोहनविक्रमको नेतृत्वमा नेकपा चौथो महाधिवेशनको देशव्यापी प्रभाव फैलिँदै थियो । विशेष गरेर कलेज पढ्ने विद्यार्थी तथा गाउँ गाउँमा शिक्षकका रूपमा छिरेकाहरूको माझ यो विस्तार हुँदै थियो । यता पूर्वझापा आन्दोलनले पनि कोअर्डिनेसन केन्द्रका रूपमा आफूलाई सङ्गठित गर्दै सहर बजारका युवा विद्यार्थीबिच प्रभाव बढाउँदै लग्यो । झापा आन्दोलनका अगुवाबाट २०३५ साल पुस ११ गते मालेको स्थापनापश्चात् यो सङ्गठनले युवा, विद्यार्थी र किसानबिचमा प्रभाव र विस्तार गर्न एकपछि अर्को सफलता प्राप्त गर्दैै गयो । पुष्पलालको नेतृत्वमा सङ्गठित रहेका पाका, पुराना साथीहरू पनि मालेको फैलावटतर्फ आकर्षित हुन थाल्नु स्वाभाविक थियो । जसका कारण मोहनविक्रम नेतृत्वको चौथो महाधिवेशन र पुष्पलाल नेतृत्वको पार्टी सङ्गठनात्मक रूपमा खुम्चिँदै जाने क्रम सुरु भयो । यसै क्रममा २०३३ सालपछि मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितहरू पनि पुष्पलाल नेतृत्वको सांस्कृतिक मुक्ति मोर्चा नै कब्जा गरेर कोकेतिर समाहित भएको कुरा ऐतिहासिक तथ्यले पुष्टि गरेको छ ।
विसं २०३५ साउन ७ गते पुष्पलालको निधनपछि सहाना प्रधानको नेतृत्वमा पुष्पलालको विरासतलाई अगाडि बढाउने कार्य सुरु भयो । यता मनमोहन अधिकारी, हिक्मत सिंह भण्डारी, माधव ज्ञवाली (मधु गुरु), सिद्धिलाल सिंह, भरतमोहन अधिकारी, केशरमणि पोख्रेल, कमल कोइराला र हिरण्यलाल श्रेष्ठ एमएस थापालगायत देशभर छरिएर रहेका पाका पुराना नेता कार्यकर्तालाई समेटेर (२०३६) भदौमा पाटनको एक अनौपचारिक भेलालाई हिरण्यलाल श्रेष्ठको युगधारा पत्रिकामा नेकपा मनमोहन अधिकारी समूह गठन भनेर समाचार प्रचार भएको थियो । त्यसपछि सञ्चार माध्यममा पुष्पलालको विरासतका दुई समानान्तर पार्टी नेकपा मनमोहन समूह र नेकपा सहाना समूह प्रचारमा आयो । जनमत सङ्ग्रहको खुकुलोपनलाई उपयोग गर्दै पत्रपत्रिकामा पार्टीका अगाडि प्रतिबन्धित झुन्ड्याएर प्रचारप्रसार हुने गरेको थियो । सहाना र मनमोहन अधिकारी नाताले साली भेना भए पनि राजनीतिक रूपमा पुष्पलालको विरासतलाई आआफ्नै भएको दाबी गर्दै दुई वटा पार्टी अलग अलग अस्तित्वमा अगाडि आए । मनमोहन अधिकारी पुष्पलालकै समकालीन एवं २०१० सालको प्रथम महाधिवेशनका महासचिव रहिसकेका, मुलुकको राष्ट्रिय राजनीतिमा र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विशिष्ट पहिचान बनिसकेका मूर्धन्य व्यक्तित्व भएकाले सहानाको नेतृत्व मनमोहनलाई स्वीकार्य नहुनु स्वाभाविक थियो । यता पुष्पलालको नेतृत्वमा सङ्गठित रूपमा रहेका तर व्यक्तित्वको हिसाबमा कनिष्ठहरूको नेतृत्व जस्ता आपसी टकराव पनि यसको कारण रहेको थियो ।
अन्ततः पुष्पलालकै विरासतका दुई पार्टी अलग अलग रूपमा लामो समय अगाडि जान नसक्ने अवस्था सिर्जना भएपछि विसं २०४४ चैतमा भारत, बनारसको सारनाथमा दुवै पार्टीको राष्ट्रिय भेला आयोजना गरी मनमोहनको नेतृत्वमा नेकपा माक्र्सवादी एकीकृत भई अगाडि बढ्यो । यता चौथो महाधिवेशनको नाममा अगाडि आएको मसालमा मतान्तर भई मोहनविव्रmम नेतृत्वमा नेकपा (मसाल) र निर्मल लामाको नेतृत्वमा नेकपा (मशाल) दुई पार्टी अलग अस्तित्वमा अगाडि बढ्ने क्रम सुरु भयो । यसै बिचमा रूपलाल विश्वकर्माको सर्वहारा श्रमिक सङ्गठन आदि सङ्गठनहरू पनि अस्तित्वमा आए ।
२०४६ सालको जनआन्दोलनमा दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीका सङ्गठनहरू अस्तित्वमा आइसकेका थिए । २०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेससँग संयुक्त संयन्त्र निर्माण गरेर पञ्चायतविरुद्धको आन्दोलनमा सात वामलगायत सामेल थिए । यता मसालका विभाजित अलग अलग नौ वटा सङ्गठनबाट पनि ‘संयुक्त राष्ट्रिय जनआन्दोलन समिति’ का नाममा सहभागिता थियो । त्यस्तै नेपाल किसान मजदुर सभा नेता श्यामप्रसादको समूहबाट पनि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता थियो । २०४६ सालको जनआन्दोलनको सफलतापछि पनि नेपालमा कम्युनिस्ट पार्टीहरू एक आपसमा एकीकरण हुने, पुनः विभाजित हुने यो शृङ्खला आज ७६ वर्षसम्म आइपुग्दा पनि निरन्तर चलिरहेको छ । अहिले पनि संसद्मा प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीहरूमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), संयुक्त जनमोर्चा नेपाल (मातृपार्टी नेकपा मसाल) र नेपाल मजदुर किसान पार्टी रहेका छन् । संसद् बाहिर नेकपा माओवादीका नेता नेत्र विक्रम चन्द विप्लव, नेकपा माओवादीका नेता मोहन वैद्य, नेकपा मालेका नेता सिपी मैनाली, नेकपाका पुष्पलाल, नेता ऋषि कट्टेललगायतका अस्तित्वमा छन् ।