काठमाडौँ, मङ्सिर १६ गते । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल आज साँझ मलेसिया प्रस्थान गरेको छ ।
मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवलोकन भ्रमणका लागि संसदीय प्रतिनिधि मण्डल मलेसिया गएको हो ।
संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक रहनुभएको छ । यसै गरी लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, सङ्घीय सांसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी रहनुभएको छ ।
भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रि«य सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको सांसदका सभामुख र उपसभामुख तथा सेलांगोर प्रान्तीय सांसदका सभामुख र उपसभामुख सँग भेटवार्ता गर्ने कार्यक्रम छ भने प्रतिनिधिमण्डलले मलेसियाको संसद् र सेलांगोर प्रान्तीय संसद्को अवलोकन , भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
भ्रमण सम्पन्न गरी उपाध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डल मङ्सिर २१ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।