• १२ पुस २०८१, शुक्रबार

‘साख मूल्याङ्कनको नतिजालाई अवसरमा बदलौँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तक्र्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्याङ्कनबाट नेपालले डबल बी माइनस नतिजा पाएको र यो उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने औँल्याइएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्याङ्कनबाट प्राप्त नतिजा गौरवयोग्य रहेको विश्लेषण गर्नुभयो । “नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहनु गौरवपूर्ण छ,” उहाँले भन्नुभयो, “यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक छ ।”  

वर्तमान सरकार गठनपश्चात् अर्थतन्त्र सुधारका सार्थक प्रयास भइरहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उकास्न व्यावसायिक वातावरण निर्माणमा लागि परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरताले मुलुकलाई कहालीलाग्दो अवस्थामा पु¥याउँछ, त्यस अवस्थामा अर्थतन्त्रमा उल्लेखनीय समस्या समाधान गर्न सक्दैनौँ । स्थिर सरकार बनाउने आवश्यकता महसुस गरेर यो सरकार बनेको हो । मेरो बुझाइमा संसद्ले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।” 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले मुलुकको सार्वभौम साख मूल्याङ्कनले सकारात्मक बहस सिर्जना गरेको बताउनुभयो । उहाँले अहिले ब्याजदर घटेको, तरलता पर्याप्त रहेको, सरकारले निजी क्षेत्रलाई प्रवर्धन गर्न खोजेकोलगायत कारण विगतको भन्दा फरक अवस्था रहेको टिप्पणी गर्नुभयो ।   

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाको हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चुनौती भने कायमै रहेकोमा सचेत गराउनुभयो । सार्वभौम साख मूल्याङ्कनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उहाँको भनाइ थियो । 

अर्थविद् डा. अच्युत वाग्लेले राजस्वका नयाँ स्रोत फेला नपरेका सन्दर्भ निकाल्दै यसले राज्यलाई कमजोर बनाइरहेको औँल्याउनुभयो । उहाँले सरकारले हात खुट्टा उठाउनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै बलियो रूपमा प्रस्तुत हुन सुझाव दिनुभयो । उहाँले गैरआर्थिक व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका नेतृत्वले अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि निजी क्षेत्रको मनोबल उठ्न नसकेको भन्दै यसमा काम गर्न सरकारलाई सुझाव दिएका थिए । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले अप्ठ्यारो परिस्थितिका बिच नेपालले पहिलो पटक राम्रो कन्ट्री रेटिङ पाएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका इस्यु, अडानहरू निजी क्षेत्रको फाइदाका लागि मात्र राख्छ, सामाजिक रूपमा उत्तरदायी छैनन् भन्ने मानसिकताले राजस्व सङ्कलनमा असर गरेको भन्दै सरकारलाई सचेत गराउनुभयो ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले क्रेडिट रेटिङले निजी क्षेत्रको मनोबल उकास्न सहयोग पुग्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सुस्तता अहिलेको समस्याका रूपमा रहेको औँल्याउनुभयो ।