कम्मरैमा पटुकी कसेर
मुसुमुसु हाँसेकी बसेर
रुकुम मैकोट...
आँखा नि राम्रै हो मन पर्ने ओठ
चलचित्र खुश्माको यो गीतले रुकुम मैकोटलाई जन जनको जिब्रोमा झुन्ड्याइदिएको छ । सर्वत्र चर्चा र चासोको मैकोट गाउँ पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्दछ । खाममगर समुदायको बाहुल्य रहेको यस गाउँका बासिन्दा खाममगर भाषा बोल्ने गर्छन् । मैकोट गाउँका ज्येष्ठ नागरिकको भनाइ अनुसार मल्लकालदेखि नै चार हजार पर्वत थुममैकोट भनी मैकोटमा चिठीपत्र आउने गर्दथे र त्यहाँबाट अन्य मगर गाउँमा पठाइने गर्दथ्यो । त्यस समयमा मैकोट अहिलेको जिल्ला सदरमुकाम जस्तै भएको मान्न सकिन्छ ।
रुकुम, रोल्पाका खाममगरलाई १८ पन्थीमगर र पाल्पाका मगरलाई १२ पन्थीमगर भन्ने गरिन्छ । खाममगर भाषामा पानीलाई ‘रि’ र पाल्पाली मगर भाषामा ‘डी’ भन्ने गरिन्छ । यी दुवै मगर जातिले ‘रि’ र ‘डी’ अक्षरलाई जोडेर ‘रिडी’ नामकरण गरी पाल्पाको रिडीलाई आफ्नो सिमाना कायम गरेका थिए भन्ने बुढापाका खाममगरको भनाइ रहेको छ ।
मैकोटको इतिहास
इतिहासको अध्ययन गर्दा परापूर्वकालमा मैकोट खस राज्यको अधीनस्थ रहेको देखिन्छ । मैकोटमा रहेको मष्टोथानले समेत यसलाई पुष्टि गर्दछ । मैकोटका बुढापाका पुनमगरको भनाइ अनुसार त्यस समयमा जुम्ली अमाली अर्थात् सेना र मैकोटका मगरबिच बेला बेलामा झगडा भइरहने गर्दथ्यो । मैकोटभन्दा पूर्वको काल्दुङ भनिने अग्लो डाँडोमा मगर लुकेर बसी त्यहाँबाट तीर हान्दा जुम्ली अमालीको गोडाको बुढीऔँलाको कापामा गाडिएपछि मैकोटबाट भागेर गएका थिए भनिन्छ । मगरहरू लुकेर तीर हानेको ठाउँमा अहिले सिद्धवराहको थान छ । खस साम्राज्य कमजोर हुँदै गएर बाइसे राज्यमा विभक्त भएपछि मैकोट बाँफीकोट राज्यभित्र परेको थियो । यहाँका खाममगरको आफ्नो छुट्टै लिपि र ग्रन्थ रहेको छ । यस ग्रन्थसँग सम्बन्धित विद्या पनि रहेको छ । यो विद्या व्यक्तिको ग्रहदशा हेरेर ग्रहशान्ति गर्ने विधि एवं जडीबुटीको नाम र प्रयोगविधिसँग सम्बन्धित छ । पहाडे कागजमा लेखेका यस्तो ग्रन्थ अझै पनि केही खाममगरका घरमा रहेका छन् । यो ग्रन्थलाई चैत्र अष्टमी र दसैँको अष्टमीका दिन पुज्ने गरिन्छ । यो ग्रन्थ काइते लिपिमा लेखिएको हुँदा त्यसमा लेखेका अक्षरमध्ये ओम नमः बाहेक अरू कुनै पनि अक्षर चिन्न र पढ्न सक्ने खाममगर अहिले गाउँमा छैनन् । यस्तो विद्या जानेका खाममगरलाई जैसी भनिन्थ्यो । यहाँका खाममगरमा आफ्नो विद्याबाहेक तान्त्रिक विद्या पनि थियो । तान्त्रिक विद्याको प्रयोग गरी नाच्ने र विभिन्न चर्तिकला देखाउने गरिन्थ्यो तर अहिले यो विद्या पूर्ण रूपले लोप भएको छ ।
खाममगरको वंशावली
मैकोटका खाममगरको वंशावलीसम्बन्धी लिखित दस्ताबेज भेटिएको छैन । योगी नरहरिनाथले मैकोटका खाममगरको वंशावली रुकुमकोटे राजाका सन्तान लोकेन्द्रबहादुर शाहसँग मागेर लगेका थिए भन्ने सुनिन्छ तर लगत्तै उनको मृत्यु भएकाले पछि भेट्याउन सकिएन भनी मैकोटका मुखिया खलकका जेठा व्यक्ति लक्ष्मीप्रसाद पुनले बताएका छन् । खाममगरभित्रका प्रमुख जाति पुनमगर, घर्तीमगर र बुढामगर हुन् । यीमध्ये पुनमगर अरू खाममगरभन्दा फरक हुन् भनी गाउँघरका केही बुढापाकाले बताएका छन् । कतिपय पुनमगर आफूहरू ठकुरीले घर्तीमगरकी छोरी विवाह गरेपछि जन्मेका सन्तान हौँ भनी दाबी गर्छन् । यस सम्बन्धमा ठोस प्रमाण भेट्याउन नसके पनि यससम्बन्धी विभिन्न लोककथन रहेका छन । यहाँका खाममगरले सिकार खेल्दा लैजाने सिकारी कुकुरलाई सिकार सुरु गर्नुभन्दा पहिले बाजुरा, बझाङ भनी पुज्ने गर्छन् । यसले पनि यहाँका खाममगरको बाजुरा, बझाङसँग सम्बन्ध रहेको देखाउँछ ।
अर्को लोककथन अनुसार बझाङका ठकुरीको छोराले डोल्पाको मगरको छोरासँग मित लगाएको हुँदा उनी सिकार खेल्न डोल्पा आएछन् । उनी डोल्पामा मितको घरमा बस्दा मित आमाले रक्सी हालेको भाँडोमा पानी खान दिएपछि घर फर्केछन् । घरमा गएपछि उनले यो घटना आफ्नो परिवारलाई सुनाए । त्यसपछि उनी घर पुगेको दिन पूर्णिमा परेको हुँदा अब उप्रान्त तेरो जात पुन भयो भनी ठकुरीबाट जातच्युत गराएको हुँदा उनी फर्केर आई घर्तीमगरकी छोरीसँग बिहे गरे र मैकोटका राजा बने भन्ने भनाइ रहेको छ । तिनै ठकुरी राजाका सन्तान पुनमगर हुन् भन्ने मैकोटका केही बुढापाका पुनमगरको भनाइ रहेको छ । यहाँका केही पुनमगरले आफूहरू बझाङका कौशिल्य गोत्रीय ठकुरीका सन्तति भएको बताउने गर्छन् ।
मैकोट मष्टो
मैकोट गाउँमा रहेको मष्टोलाई दारे सिद्ध मष्टो भन्ने गरिन्छ । यो मष्टोका तीन दिदीबहिनीमध्ये डोल्पा तिब्रिकोटकी त्रिपुरासुन्दरी जेठी, जाजरकोटकी माइली र मैकोटकी कान्छी हुन् भन्ने भनाइ रहेको छ । लोककथन अनुसार अहिले डोल्पाको त्रिपुरासुन्दरीको थान भएको ठाउँमा गाउँलेले ढुङ्गाको ओखलमा धान कुटेर चामल बनाउने गर्दथे । त्यहाँ एक पाथी धान कुट्दा बिस पाथी चामल बनेपछि यसभित्र के छ भनी ओखल बनाएको ढुङ्गा उचाल्दा त्यो ढुङ्गा चोइटिएर उछिट्टिई एउटा टुक्रा जाजरकोट मस्टो र अर्को टुक्रा मैकोट मस्टो भएको ठाउँमा झरेछन् तर त्यहाँ ढुङ्गा झरेको कसैलाई पनि थाहा भएन ।
एक दिन राति मैकोटका राजाले त्यसै स्थानमा एक जना सेतो कपडा लगाएको मानिस आएर तैँले मेरो सेवा गर । म तँलाई मनले चिताएको पु¥याइदिन्छु भनेको सपना देखेछन् र त्यसै स्थानमा मस्टोको थान स्थापना गरेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ । मैकोट मष्टोलाई प्रत्येक पूर्णिमाका दिन मुखिया खलकका पुनमगरले पूजा गर्ने गर्छन् । यहाँ पूजा गर्ने पुनमगरलाई पुजारु भनिन्छ । मैकोट मस्टोमा पूजा गर्दा घर चोख्याउने र त्यहाँ लगेर धजा, धुप चढाउने गरिन्छ । मष्टोसँग वर माग्नेले आफ्नो वर पूरा भएपछि दसैँको नवमीका दिन भेँडाका साँढको बलि दिने गर्छन् । मैकोटमा रगत खाने र दुध खाने दुई वटा मष्टो छन् भन्ने गरिन्छ । त्यसैले मष्टोलाई पहिले भेँडाका साँढले रगतको भोग दिएपछि मात्रै गाईको दुध चढाउने गरिन्छ ।
यहाँका मष्टोसँग वर मागेपछि पूरा हुने गरेको छ भनी स्थानीयले बताएका छन् । यहाँ आएर धेरै जसो व्यक्तिले छोराको वर माग्ने गर्छन् र छोरो जन्मेपछि छोराको नाम मष्टबहादुर राख्ने गरेको समेत पाइएको छ । यहाँका मानिसमा मैकोट मष्टोप्रति ठुलो आस्था रहेकाले कुनै पनि काम गर्दा वा यात्रामा निस्कँदा मष्टोलाई पुकार्ने गर्छन् । यसरी परापूर्वकालदेखि नै खाममगर समुदायमा खस सभ्यताको गहिरो प्रभाव पर्दै आएको देखिन्छ । यहाँका खाममगरले आफ्ना आमा, बा र दाजुभाइको मृत्यु हुँदा कपाल खौरेर किरिया बस्ने र तीन छाक नुन छाड्ने गर्छन् ।
त्यसै गरी दाहसंस्कार गर्न लैजाँदा बाटोमा सेतो कपडा र धेरै निगालोको लट्ठीमा टाँगेर अगाडि हिँड्ने गर्छन् । घरमा मृत्यु पर्दाका वर्ष सोह्रश्राद्धमा औँसीका दिन लोग्ने मान्छेले कपाल खौरेर नयाँ टोपी लगाउने गर्छन्, जसलाई चोखिने भनिन्छ । पितृऔँसी भनिने यसै दिन कतिपय खाममगरले आफ्ना आमा, बाबुको सम्झनामा पितृको पूजा गर्ने गर्छन् र भोलिपल्ट घटस्थापनाका दिन दमाहा बजाउने गर्छन् । यसलाई दुर्गा बजाउने भनिन्छ । दसैँमा फूलपातीका दिन मस्टोमा फूल भिœयाउने गरिन्छ । दसैँका दिन गाउँका मुखियाले सबैलाई मस्टोथानमा बोलाएर टीका लगाइदिने प्रचलन रहेको छ । यस्तो टिकोलाई राजा टिको भन्ने गरिन्छ । विगतमा मैकोट आसपासका हुकाम, रन्मा गाउँका मानिस पनि मैकोटका मुखियासँग टीका थाप्न आउने गर्दथे । खाममगरमा खस सभ्यताको प्रभाव कतिसम्म गहिरो प्रभाव परेको छ भन्ने यो लोककथनबाट समेत थप पुष्टि हुन्छ । यहाँका सिमले भनिने पुनमगरका घरका महिलाले अहिले पनि गाई दुहुने गर्दैनन् । लोककथन अनुसार मैकोटमाथिको जङ्लाढालपानी भन्ने लेकाली खर्कमा पुनमगरका बाबु, छोरी गाई पालेर बसेका थिए । एक दिन रजस्वलाभएकी छोरीले गाई दुहेको हुँदा बाबु, छोरी र गाईको मृत्यु हुन पुग्यो र उनीहरू ढुङ्गो बनी त्यसै स्थानमा रहेका हुँदा सिमले पुनमगरका महिलाले गाई दुहुन हुँदैन भन्ने मान्यता अहिले पनि रहिआएको छ ।
पर्यटकीय सम्भावना
मैकोटमाथि लेकाली क्षेत्र ढोरपाटन सिकार आरक्ष पर्दछ । रुकुमपूर्वबाट आरक्ष घुम्न चाहने पर्यटकका लागि मैकोट प्रवेशद्वार हो । मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी रुकुमको काक्री भन्ने ठाउँबाट तकशेरा, हुकामहुँदै मोटरबाटोबाट मैकोट पुग्न सकिन्छ भने ढोरपाटन उपत्यकाबाट फागुनेधुरी, ठागुर, पेल्माहुँदै पैदलमार्गबाट समेत त्यहाँ पुग्न सकिन्छ । मैकोट पुनमगरको उद्गमस्थल मानिन्छ । यहाँको टुम्पाको पहरो, कायमडाँडा र घुस्तुङका ओडार बुढामगर र घर्तीमगरका उद्गमस्थल मानिन्छन् । यसबारे थप अध्ययन गरी प्रचारप्रसारमा ल्याउन सके यस क्षेत्रकै पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने हुन्छ । पछिल्ला केही वर्षदेखि आरक्षभित्र पर्ने सुनदह र बर्सातको समयमा खर्कमा फुल्ने बुकी फूल हेर्न एवं मैकोट मष्टोको दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।