• १५ मंसिर २०८१, शनिबार

सङ्घीयताको व्यवहारिक कार्यान्वयनका लागि काँग्रेस एमाले एक ठाउँमा: मन्त्री गुरुङ

blog

राधाकृष्ण डुम्रे

वालिङ,मङ्सिर १५ गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयताको व्यवहारिक कार्यान्वयनका लागि काँग्रेस एमाले एक ठाउँमा भएको बताउनु भएको छ । 

स्याङ्जाको वालिङमा शुक्रवार साँझ भएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले सङ्घीयता र स्थानीय सरकारलाई बलियो बनाउन सरकार सक्रिय रहेको स्पष्ट पार्नु भयो ।

संविधानमा स्थानीय सरकारलाई धेरै अधिकार दिएको  भन्दै मन्त्री गुरुङले उपयुक्त कानुनको अभावमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो,“यसको अक्षरशः कार्यान्वयन गर्न कानुन बनाउनु बर्तमन सरकारको प्रमुख काम हो ।”

संविधानमा रहेका अस्पष्टतालाई संशोधन गरेर उत्कृष्ट संविधान बनाउन सरकार छलफलमा रहेको उहाँको भनाई छ । 

स्याङ्जाको विकासमा आफ्नो विशेष ध्यान रहेको भन्दै मन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीको लागि छिटै काम सुरु हुने जानकारी गराउनु भयो । सरकारले सिद्धार्थ राजमार्ग,पृथ्वी राजमार्गसँगै विभिन्न सडकलाई प्राथमिकतामा राखेको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

छलफलमा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले स्याङ्जाको विकासको लागि तत्काल र दीर्घकालमा गर्नु पर्ने कामहरूका बारेमा जानकारी गराएका थिए । 

वालिङमा नगरपालिकामा भएको अन्तरक्रियामा बोल्नुहुँदै मन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिर राधाकृष्ण डुम्रे