• १५ मंसिर २०८१, शनिबार

संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला

blog

फाइल तस्बिर

गोरखा, मङ्सिर १५ गते । गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका सरंक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरु समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिनुभयो ।

“मगर समुदायको संस्कार र संस्कृति जीवन्त राख्न अहिले मगर जातिको सोरठी, कौह्रा, झ्याउरे नृत्य पछिल्लो पुस्तालाई सिकाउने थालिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक जन्म, मृत्यु र विवाहलगायतका कर्मकाण्डलाई पनि आफ्नै परम्पराअनुसार नै गर्नका लागि सिकाइको प्रक्रियालाई अगाडि बढाइएको छ ।” गोरखा सामुदायिक सिकाइ केन्द्र र  वडाको सहयोगमा स्थानीय मगर समुदायको मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण एवं पुस्तान्तरणका लागि महिलाले काम गरिरहेको अध्यक्ष थापामगरले बताउनुभयो । “मगर जातिका महिला र पुरुषले लगाउने परम्परागत पोसाकबारेमा पछिल्लो पुस्तालाई थाहा हुन छोडिसक्यो”, उहाँले भन्नुभयो, “यसलाई जोगाउन र पुस्तान्तरणका जरुरी छ, हामीले त्यो काम पनि सुरु गरेका छौँ ।”

गोरखा सामुदायिक सिकाइ केन्द्रले मगर समुदायका महिलालाई संस्कृतिका संरक्षणमा सहयोग पु¥याउन मादल, झुर्मालगायतका परम्परागत वाद्य सामग्री सहयोग गर्दै आएको छ । “पछिल्लो समय जातजातिका आफ्ना मौलिक संस्कृतिको संरक्षण हुनै सकेको छैन, नत संस्कृतिको पु्स्तान्तरण नै हुने गरेको छ”, केन्द्रका अध्यक्ष विशेश्वर कट्टेलले भन्नुभयो, “संस्कृतिको पुस्तान्तरण र पुस्ता हस्तान्तरणको दूरी कम गर्न सिकाइ केन्द्रमार्फत महिलाले काम गर्न थालेका छन् ।”

समूहले मगर जातिका युवायुवतीलाई आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी दिन सकेमात्र मौलिक संस्कृति र परम्पराको पुस्ता हस्तान्तरण गर्न सकिने उहाँको भनाइ छ । आमडाँडाका मगर समुदायका महिलाले संस्कृति जर्गेनासँगै स्थानीय रैथाने जातको बालीनाली संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएका छन् ।