• २ माघ २०८१, बुधबार

क्विन्टलमा बिस रुपियाँ बढ्यो उखुको मूल्य

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर १५ गते । सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य गत वर्षभन्दा २० रुपियाँ बढाएर मूल्य निर्धारण गरेको छ । गत वर्ष उखुको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ रहेकामा यस वर्ष प्रतिक्विन्टल २० रुपियाँ बढाएर ६५५ रुपियाँ निर्धारण गरेको हो । 

मन्त्रीपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५८५ रुपियाँ पुर्‍याइएको हो । प्रतिक्विन्टल ७० रुपियाँका दरले आउने रकम सरकारले अनुदानबापत किसानको खातामा पठाउने व्यवस्था छ । सरकारले किसानलाई हाल अनुदानबापत उपलब्ध गराउँदै आएको प्रतिक्विन्टल ७० रुपियाँ असाध्यै कम भएको भन्दै बढाउने प्रस्तावसहित कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बिहीबार नै मन्त्रीपरिषद्मा लगेर छलफल चलाउनुभएको थियो । मन्त्री अधिकारीको प्रस्तावपछि राष्ट्रिय ढुकुटीको अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने निर्णय गरेको छ । 

कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको जानकारी दिनुभयो । पहिले चिनी मिलले नै अनुदान रकम कृषकलाई दिने व्यवस्था थियो । उद्योगबाट अनुदान रकम कृषकले नपाएको धेरै गुनासो आएपछि सरकारले जिल्लाका कोष तथा लेखा नियन्त्रकका कार्यालयमार्फत कृषकको बैङ्क खातामा सोझै अनुदान रकम भुक्तानी हुने व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो । 

कृषि मन्त्रालयका अनुसार अनुदान प्रवाहमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न, अनुदान रकम भारतीय उखु उत्पादकलाई जान सक्ने समस्या नियन्त्रण गर्न, उखु सङ्कलन गरी बिक्री गर्ने सङ्कलन कर्तालाई जान सक्ने अनुदान रकम नियन्त्रण गरी वास्तविक कृषकलाई नै अनुदान रकम प्रदान गर्न स्थानीय तहमा उखु कृषक दर्ता गरी सोको आधारमा अनुदान प्रदान गर्ने व्यवस्था छ । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सम्बन्धित जिल्लामा जिल्ला भुक्तानी समिति रहेको छ । 

उखु कृषकलाई उखु बिक्री गरेबापत चिनी मिलले प्रदान गर्नुपर्ने रकम समयमै भुक्तानी नगर्ने समस्या भने यथावत् छ । त्यस्तै सरकारले तोक्ने न्यूनतम खरिद मूल्य पनि कार्यान्वयन हुनेमा उखु किसान विश्वस्त हुन सकेका छैनन् । यता कषि मन्त्रालयका सूचना अधिकारी जोशीले विगतमा उखुको भुक्तानी नपाउने समस्या भए पनि अहिले नभएको जानकारी दिनुभयो । तस्करीको चिनी बजारमा आएका कारण हाल सञ्चालनमा रहेका चिनी मिल पूर्ण क्षमतामा चल्न नसकेको चिनी उद्योगी बताउँछन् ।