गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १५ गते । मौद्रिक सूचकहरूले सकारात्मक लय समाउँदै गर्दा नेपाल राष्ट्र बैङ्कले विद्यमान व्यवस्था यथावत् राखेर चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको समीक्षामार्फत नीतिगत दर, निक्षेप सङ्कलन दर र बैङ्क दर यथावत् राखिएको छ ।
शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी चालु आव २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैङ्कले पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन नगरी यथावत् राखेको हो ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशत, ब्याजदर कोरिडोर अन्तर्गतको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशत र ब्याजदर कोरिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैङ्कदरलाई साढे छ प्रतिशतमा यथावत् राखिएको छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको पनि राष्ट्र बैङ्कले जनाएको छ ।
मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन ‘सजगतापूर्ण लचिलो’ मौद्रिक नीतिमार्फत विगतमा मौद्रिक नीतिमा गरिएको कडाइका कारण अर्थतन्त्र सहज नभएको उद्योगी व्यसायीको गुनासोलाई चिर्दै राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत उल्लेख्य सहजीकरणको प्रयास गरेको थियो ।
मौद्रिक नीतिमा मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कका अनुसार गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.४९ प्रतिशत रही वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत छ ।
कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा साढे १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।
मौद्रिक नीतिमा उल्लिखित ब्याजदर कोरिडोरको माथिल्लो सीमाको बैङ्कदरलाई ७.० प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आवको पहिलो तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैङ्क दर तीन प्रतिशत छ । त्यस्तै विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा साढे १२ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुपरक नीति र उपाय अवलम्बन हुने अपेक्षा
चालु आव २०८१/८२ को मौद्रिक नीतिले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पु¥याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको बैङ्क तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन) ले जनाएको छ ।
राष्ट्र बैङ्कको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्षमा अर्थतन्त्रका आन्तरिक सूचकहरू भने झन् शिथिल हुँदै गएको तत्कालीन परिस्थिति र आमअपेक्षालाई सूक्ष्म रूपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यावसायिक एवं बैङ्किङ गतिविधिलाई जीवन्त बनाउनका लागि धेरै हदसम्म लचकता अपनाउँदै गत साउनमा आएको मौद्रिक नीतिले आम रूपमा आशा र उत्साह जगाएको परिसङ्घले जनाएको छ ।