• २१ पुस २०८१, आइतबार

जाडोमा स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

blog

काठमाडौँ, मङ्सिर १९ गते । जाडो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छन् । प्रेसर बढ्ने, हृदयाघात हुने, मानसिक समस्या बढ्ने, चिसो कठेङरियर हाइपोथमिया हुनेजस्ता स्वास्थ्य समस्या देखिने गर्छन् ।

जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या र सङ्क्रामक रोगले बढी दुःख दिने गर्छ । सरुवा रोगमा घाँटी बस्ने, घाँटी दुख्ने, नोरा भाइरसको कारणले गर्दा कोल्ड डाइरियाजस्ता स्वास्थ्य समस्या देखिने चिकित्सक बताउँछन् । 

सरुवा रोग विशेषज्ञ डा.मिलन बज्राचार्यले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाडो मौसममा नोरा भाइरसका कारण कोल्ड डाइरिया, इन्फ्यून्जाका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल हुने, निमोनियाजस्ता स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने बताउनुहुन्छ ।   

उहाँ भन्नुहुन्छ, “जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुख दिने गर्छ । नोरा भाइरसका कारणले हुने कोल्ड डाइरिया, मौसमी फ्लुका कारणले गर्दा रुघाखोकी, घाँटी दुख्ने, टन्सिल, निमोनिया हुने जस्ता स्वास्थ्य समस्या देखिन्छन् ।” डा.बज्राचार्यका अनुसार यो मौसममा झ्याल ढोका थुनेर गुम्म भएर बस्दा, सरसफाइमा ध्यान नदिँदा सरुवा रोगको सङक्रमण बढ्ने गर्छ । तातो मौसममा धेरै बसिरहेको बेलामा एक्कासि चिसो मौसममा जाँदा घाँटी दुख्ने, घाँटी खसखस हुने जस्ता स्वास्थ्य समस्या निम्तिने उहाँ बताउनुहुन्छ । 

यस्ता स्वास्थ्य समस्या सबै उमेर समूहका मानिसमा देखिए पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका, एचआइभीका बिरामी, गर्भवती, क्यान्सरका बिरामी, लामो समयसम्म औषधीको सेवन गर्ने मानिसलाई बढी दुःख दिने गर्छ । 

सङ्क्रमित भएमा बिरामीमा कडा खालका लक्षण देखिएमा ब्याक्टेरियाबाट सङ्क्रमित भई निमोनिया हुने सम्भावना बढ्छ । सोही कारणले कहिलेकाहीँ  बिरामीको फोक्सोमा सङ्क्रमण भई  फोक्सोले नै काम नगरेर आइसियूमा  राखेर उपचार गर्नुपर्ने हुन्छ । 

जाडोमा दमको समस्याले  बढी दुःख दिने गर्छ । चिसो हावाका कारणले दम बढ्ने उहाँ बताउनुहुन्छ । यस्ता स्वास्थ्य समस्याबाट बच्न न्यानो भएर बस्न उहाँको सुझाव छ। मौसमी रुघाखोकी लाग्नासाथ जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न डा.बज्राचार्यको सुझाव छ ।  

उहाँका अनुसार मौसमी फ्लुलाई लक्षणका आधारमा उपचार गरी निको बनाउन सकिन्छ । मौसमी फ्लु भएको बेलामा  घरेलु उपचार गरेर निको बनाउन सहिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ मौसमी फ्लु भएमानुन पानीले कुल कुल गर्ने, प्रशस्तमात्रामा तातो पानी खाने, ज्वरो आएमा सिटामोल खाने, खोकीको लागि मह, कागती, अदुवा तातो पानीमा राखेर पिउन सकिन्छ ।’

यदि जटिल स्वास्थ्य समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन उहाँको सुझाव छ । उहाँका अनुसार जाडो महिनामा न्यानो  भएर बस्नुका साथै तातो खानेकुरा खानु पर्छ ।

जोखिम समूहका मानिसले इन्फ्युन्जा विरुद्धको खोप लगाउन उहाँको सुझाव छ । खोपले जोखिम समूहले रोगको जोखिम कम गर्नुका साथै रुघाखोकी बिग्रिएर निमोनिया हुनबाट बचाउने गर्छ । जाडोमा प्रशस्त तातो पानी पिउन तातो खानेकुरा खाना र सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उहाँले मौसमी फ्लुबाट बच्न मास्क लगाउन अनुरोध गर्नुभयो । 

त्यसका अलावा यस्ता स्वास्थ्य समस्या हुन नदिन घाँटी टाउको छोप्नेगरी न्यानो  न्यानो भएर बसनुपर्छ । तातोमा बस्दाबस्दै चिसो मौसममा नजान उहाँको सुझाव छ । 

जाडो मौसममा देखिने स्वास्थ्य समस्याका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा‍‍‍‍‌.मिलन बज्राचार्यसँग गोरखापत्र अनलाइका लागि सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङले तयार पारेको भिडियो संवाद :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।