• १४ मंसिर २०८१, शुक्रबार

सुपर काबेली ‘ए’ आयोजनाको परीक्षण सफल

blog

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थल (मुहान) । तस्विरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १४ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजनास्थल रहेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षणको काम सफल भएको छ । काबेली खोलाको पानी प्रयोग गरी निर्माण गरिएको १३.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि गरिएको परीक्षण सफल भएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार गत आइतबारदेखि सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत प्राधिकरणका प्राविधिकमार्फत अन्तिम जाँच तथा निरीक्षण गरेर शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी रहेको ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकारणको पाँचथरस्थित १३२ केभिए क्षमताको अमरपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान (समाहित) गरिनेछ । सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनको रातेखोलामा रहेको आयोजनाको विद्युतगृहबाट अमरपुर सब–स्टेशनसम्मको दूरी करिब ३१ किलोमिटर छ । 

उक्त सब–स्टेशनसम्मको प्रसारण लाइनमा गरिएको विद्युत् परीक्षण सफल भएको ढुङ्गानाले बताउनुभयो । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । 

२०७९ मङ्सिर अन्तिम सातादेखि आयोजनाको काम सुरु गरेको निर्माण कम्पनीले छोटो अवधिमै निर्माण सम्पन्न गरेको छ । आयोजना निर्माणमा करिव दुई अर्ब ६३ करोड २९ लाख रुपियाँ लगानी भएको प्रवर्धक कम्पनीले जनाएको छ । सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले पनि २१.१३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।