• १८ मंसिर २०८१, मङ्गलबार

दृष्टिविहीनलाई जीविकोपार्जनको पिरलो

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, मङ्सिर १४ गते । ‘गाई गईगे पहिरैको बाटो भैँसी जाओइन र कर्म लेख्ने भाविनीले लेख्न पाओइन’ यो गीतका टुक्काले वास्तविक गरिब, सहाराविहीन, दृष्टिविहीनसँग मेल खाएको छ । छेडागाड नगरपालिका–१ का दृष्टिविहीन तिलक बस्नेतले जीवनयापन गर्न आम्दानीको स्रोत नभएपछि अहिले समस्यामा पर्नुभएको छ । 

सानो उमेरमा आमाबुवा गुमाएपछि दाजुभाउजूसँग बसेको र अहिले बुढेसकालमा सुख पाउने आशामा घरजम गरेका तिलकले सन्तान पाएर खुसी भए पनि सुरक्षित घर, पेटभरि खाना नपाउँदा पिरले छोडेको छैन । एक छोरी, दुई छोरासहित पाँच जनाको परिवार पाल्न अहिले गाह्रो भएको उहाँको भनाइ छ । श्रम रोजगारीको कुरा पर छ । भातको थालीसमेत देख्नु हुँदैन । दृष्टिविहीन भएर बेसहारा भएपछि सहारा पाउने आशाले विवाह गरेपछि सन्तान पनि पाउनुभएको छ । उहाँलाई सन्तानले सहारा त दिए, घरमा खानेकुरा नभएपछि परिवारलाई छाक जुटाउने चिन्ताले सताउन थालेको छ । 

छेडागाड नगरपालिका–१, खारा सडकको छेउमै एक तल्ले त्रिपालले ढाकेको झुपडी छ । पानी आएपछि भत्किने डर पनि छ तर सोही घरमा परिवारलाई ओत लगाएर बसे पनि खानका लागि बढी चिन्ता हुने गरेको छ । नानीबाबु साना भएकाले कमाउन नसक्ने र आमाबुवा दुवै सहारा माग्ने अवस्थामा भएपछि आफ्नोभन्दा छोराछोरीको बढी पिरलो हुने गरेको उहाँले बताउनुभयो । 

छ वर्षीय छोरी ज्योति बस्नेत, तीन वर्षीय छोरा सुवास बस्नेत, आठ महिनाको छोरा मदन बस्नेतसहित पाँच जनाको परिवारलाई स्थानीय सरकार र सङ्घ संस्थाको आँखा नलागेपछि न राम्रो बास छ, न खाने गाँसको टुङ्गो नै छ । जसले गर्दा बस्नेत परिवार बिचल्लीमा परेको छ । उहाँ छोरीको सहारामा हिँडडुल गर्नुहुन्छ ।