गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १४ गते । दीपकराज विश्वकर्माको नयाँ गीत ‘बग्यो गण्डकी’ ले टिकटकमा राम्रो चर्चा बटुलिरहेको छ । सार्वजनिक भएको केही दिनमै ४० हजारभन्दा बढीले टिकटक भिडियो बनाएको दीपकराजले बताउनुभयो । उहाँले भन्नुभयो, “टिकटकमा गीतको भाका र शब्दलाई यसरी मन पराइदिनुहुन्छ भनेर सोचेको थिइनँ, म धेरै नै उत्साहित छु ।” गीतमा गायकले आम बेरोजगार युवाको कथा भन्नुभएको छ । गीतमा रचना, सङ्गीत, एरेन्ज, मिक्सिङ, मास्टरिङ दीपक आफैँले गर्नुभएको छ । राजनीतिकर्मीले बिनाव्यवसाय, बिनारोजगारी सम्पन्न जीवनयापन गरिरहेको भन्ने जस्ता कुरालाई पनि गीतमा व्यङ्ग्यात्मक रूपले प्रस्तुत गर्न खोजिएको छ । गीतले गरिब निमुखाको पीडाको कथा बोल्छ ।