• १८ मंसिर २०८१, मङ्गलबार

सार्वजनिक लगानी परिचालन सम्झौता सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा भएको सम्झौतामा फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजना अन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गर्नुभएको छ । सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य रहेको छ ।

अनुदान प्राप्त परियोजनामार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत्, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपत् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक आर्थिक पूर्वाधारमा लगानी गर्न सक्छ ।

आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुने र यस्तो आर्थिक सहयोग र विकास सङ्गठन (ओइसिडी) ढाँचामा आधारित रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल अतिकम विकसित देश (एलडिसी) को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानका रूपमा उपलब्ध गराइने भएको छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महìवपूर्ण उपलब्धि हुने बताउनुभयो । फिनल्यान्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्यान्डबिच आर्थिक सहकार्य विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।