• १३ मंसिर २०८१, बिहिबार

मादक पदार्थ बिक्री वितरणमा रोक

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १३ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ । मङ्सिर १६ गते यस जिल्लाको मुसिकोट नगरपालिका–१ मा हुने उपनिर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको हो ।

उपनिर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आज (बिहीबार) देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम उपनिर्वाचन हुने यस वडाभित्र मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको हो । यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । 

यहाँ वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाअध्यक्ष पदका लागि पाँच राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै, स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार हुनुहुन्छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि यस वडामा हालसम्म चार हजार ९१ मतदाता कायम भएका छन् । तीन मतदान स्थल र पाँच मतदान केन्द्र कायम गरिएको छ ।