गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १३ गते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
एनएफपिजेका नवनिर्वाचित अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले प्रधामन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ । यस्तै ‘फोटो पत्रकारिताका माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट व्यवस्थापन, समय अनुसार अद्यावधिक रहन आवश्यक क्यामरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्व धेरै रहेकाले फोटो पत्रकारका लागि राज्यका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।