• १० मंसिर २०८१, सोमबार

लोप हुँदै कुसुन्डा भाषा र संस्कृति

blog

व्यास नगरपालिका–१० निवासी इन्द्रमाया कुसुन्डा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर १० गते । संरक्षणको अभावमा कुसुन्डा जातिको भाषा र संस्कृति लोप हुँदै गएको छ । जाति लोप हुँदै गएसँगै उनीहरूको भाषा र संस्कृति पनि हराउँदै गएको हो । व्यास नगरपालिका–१०, डिहीगाउँ बस्ने इन्द्रमाया कुसुन्डा थोरै मात्र कुसुन्डा भाषा जानेको बताउनुहुन्छ । आफ्नो भाषा लोप भएर जाने चिन्ता भएर श्रीमान् राजामामाले केही भाषा सिकाए पनि बोल्ने मान्छे नहुँदा भुल्दै गएको इन्द्रमायाले बताउनुभयो । 

“मैलै केही जानेकी छु तर छोरीलाई बोल्न आउँदैन । भाषा बोल्ने अरू कोही पनि नभएकाले बिर्संदै गएकी छु,” इन्द्रमायाले भन्नुभयो । पति राजामामाको तीन वर्षअघि निधन भएयता इन्द्रमायाले कुसुन्डा भाषा बोल्न पाउनुभएको छैन । कुसुन्डा भाषा पूरै बोल्न जान्ने राजामामाको २०७५ साल वैशाख ५ गते निधन भएको थियो । 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको  निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले राजामामालाई कुसुन्डा भाषाको पूरा ज्ञान भए पनि इन्द्रमायाले केही मात्र जान्नुभएको जानकारी दिनुभयो । राजामामाले कुसुन्डा केटी नपाएपछि फरक जातिसँग विवाह गरेकाले एक पुस्ताबाट अर्को पुस्तामा भाषा स्थानान्तरण गर्न समस्या परेकाले कुसुन्डा भाषा लोप हुने अवस्थामा पुगेको घर्तीले बताउनुभयो ।

राजामामाको एक मात्र छोरी सीमान्त हुनुहुन्छ तर सीमान्तलाई कुसुन्डा भाषा बोल्न आउँदैन । कुसुन्डा समुदायको आफ्ना मौलिक भाषा, संस्कृति, मूल्यमान्यता, रीतिथिति छन्, ती लोपोन्मुख अवस्थामा रहेकाले संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने घर्ती बताउनुहुन्छ । घर्तीले भन्नुभयो, “मातृभाषा र संस्कृतिको अनिवार्य अध्ययन गर्नुपर्ने नीति बनाउने हो भने कुसुन्डालगायतका अन्य भाषा र संस्कृतिको संरक्षण गर्न सकिन्छ, होइन भने गुगलमा मात्रै सीमित हुन्छ ।” विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वन विनाश, गैरजातीय विवाह प्रणालीलगायतका कारणले भाषा र संस्कृति लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार जङ्गली जनावर सिकार गरेर र वनकै कन्दमूल खाएर जीवनयापन गर्ने कुसुन्डा आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा सम्मिलन हुँदै गएका छन् । यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो । तनहुँमा एक घरपरिवार मात्रै कुसुन्डा छन् । इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी तीनकोठे घर निर्माण गरिदिएको छ ।