• ११ पुस २०८१, बिहिबार

डिजिटल सुरक्षा चुनौती

blog

सञ्चार र सूचना प्रविधिको विकासले संसारलाई भूमण्डलीकृत विश्वमा जोडेको छ । सूचना सञ्जालमा जोडिएपछि विश्व नै एउटा गाउँ जस्तै भएको छ । सन् १९६० को दशकमा सञ्चारविज्ञ मार्सल म्याक्लुह्यानको ‘अब विश्व नै एउटा गाउँ हुन्छ’ भन्ने नवीन अवधारणालाई धेरैले आलोचना गरे । पत्याउन कठिन भएको विश्लेषण गरे तर तीन दशक हुन नपाउँदै सन् १९९० पछि विश्वमा सूचना प्रविधिले अभूतपूर्व प्रगति हासिल ग¥यो । डिजिटल युगको आरम्भ भयो । मानिसका दैनिक जनजीवन डिजिटल सञ्चार तथा सूचना प्रविधिमा निर्भर हुँदै गयो । बैङ्क, वित्त, बिमादेखि हरेक व्यवसायमा सूचना प्रविधि जोडियो । सूचना प्रविधिमा नजोडिने पेसा र व्यवसाय धराशायी बने । राज्यहरूले प्रवाह गर्ने तमाम प्रशासनिक सेवा डिजिटल युगमा प्रवेश मात्र गरेन, डिजिटल युगमा चाँडो प्रवेश गरेका मुलुक सुशासन र पारदर्शिताका निम्ति अब्बल ठहरिँदै गए । आर्थिक तथा सामाजिक विकासमा सफलता चुम्दै गए । ढिलै भए पनि नेपाल डिजिटल अभ्यासमा अग्रसर हुँदै गर्दा अनेक चुनौती सामना गरिरहेको छ ।


डिजिटल नेपालको लक्ष्यतर्फ अग्रसर नेपालका निम्ति साइबर अवरोध र सुरक्षामा समस्या आई नै रहेका छन् । पछिल्लो पटक यस्तो अवरोध राहदानी सेवामा देखिएको छ । विश्वभर राहदानी सेवा पूर्ण डिजिटल छ । लेखेर दिने राहदानी त अब एकादेशको कथा भइसक्यो । संसारभरका अध्यागमनले मेसिनले नै सत्यपन परीक्षण गर्ने हुँदा राहदानी जारी गर्ने प्रक्रिया पनि सोही अनुरूप बायोमेट्रि«क तवरले डिजिटल प्रविधिमा आधारित भइसकेको छ । नेपालमा पनि यस्तो सेवा केही वर्षदेखि अभ्यासमा छ । केही वर्षअघिसम्म राहदानीका निम्ति ठुलो भिड र महिनौँ लाग्ने प्रक्रियागत झन्झटलाई बिस्तारै अनलाइन गराई सेवामा सुधार ल्याउने यत्नले सफलता पाइरहेको थियो । चार दिनअघिदेखि एकाएक राहदानी सेवाको सर्भरमा आएको अवरोधले सेवा नै ठप्प भयो । सेवा अवरुद्ध हुँदा तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राही ठुलो मर्कामा परे भने भिडभाड र कैयौँ हप्ता पर्खनुपर्ने पुराना दिनको पुनरागमन हुने जोखिम बढेको छ । 


राहदानी निर्माण प्रक्रियाको डिजिटल सेवामा भाइरस प्रवेश गरेसँगै सेवा अवरुद्ध भएको भनिएको छ । राहदानी विभागका अनुसार राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सङ्क्रमण भएपछि सेवा अवरुद्ध हुन पुगेको हो । कुनै बेला राहदानी बनाउन काठमाडौँमै आउनुपर्ने बाध्यतालाई केही वर्षअघिदेखि विकेन्द्रीकृत गरिएको थियो । जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी प्रक्रिया अगाडि बढाउन सकिने भयो । ती कार्यालयले राहदानी विभागमा प्रक्रिया अगाडि बढाई निश्चित दिनपछि राहदानी तयार भएर सम्बद्ध कार्यालयबाटै राहदानी पाउने सेवा प्राप्त हुन थाल्यो । त्यस्तो डिजिटल सेवा बिस्तारै सुशासनकै अङ्ग बन्दै थियो । राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासनको कम्प्युटर प्रणालीमा गएको साता एकाएक समस्या आयो । विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा पनि ठप्प हुन पुग्यो । यसबाट डिजिटल सुरक्षाको गम्भीर चुनौती देखिएको छ । राहदानीको एकीकृत प्रणालीमै आक्रमण हुने गरी जोखिम बढेको छ । 


राहदानी सेवाको सर्भरमै समस्या आएपछि नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सम्पूर्ण कार्य एकै पटक अवरुद्ध भए । सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने आवेदन सञ्चालन हुँदा सेवा सरलीकृत भएको थियो तर सर्भरमा आएको समस्याले त्यस्तो सेवा पनि अन्य सेवासँगै बन्द भयो । राहदानी जस्तो अति जरुरी सेवामा आएको यो समस्याले धेरै नागरिकको तत्काल जानैपर्ने विदेश यात्रा तत्काल प्रभावित भएको छ । सेवाग्राहीबाट आउने गुनासो र आक्रोश स्वाभाविक छ । राहदानी विभागको स्पष्टीकरण अनुसार अनलाइनमार्फत राहदानी सेवा सञ्चालन गरिरहेको विभाग सर्भरसँग जोडिएको कम्प्युटरमा भाइरस आक्रमण भई सेवा अवरुद्ध भएको हो । कहाँबाट कसरी भाइरस आक्रमण भयो भन्ने छेउटुप्पो केही जानकारी भएको छैन । विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार देशभित्रका विज्ञबाट पत्ता नलागेपछि विदेशबाट विज्ञ झिकाई अध्ययन गरिने भएको छ । आगामी दिनमा समस्या नआउने गरी समस्याको समाधान गर्ने प्रयास भइरहेको जानकारी यथार्थ हुन सक्छ । राहदानी सेवाको यो अवरोध ठुलो पाठ हो । डिजिटल सुरक्षा जोखिममा छ भन्ने कतिपय आलोचकको भनाइ पुष्ट्याइँ हो । डिजिटल नेपालको लक्ष्य पूरा गर्न डिजिटल सुरक्षामा अब झनै गम्भीर हुनैपर्ने सन्देश पनि हो ।