• १२ पुस २०८१, शुक्रबार

मङ्सिर, किसान र सपना

blog

आएछ मङ्सिर जहाँ धनधान्य बोकी

झार्छन् किसान पसिना प्रतिभा नरोकी

झुल्क्यो प्रसन्न मनसाथ बिहान खासा

टाढा गरी सकल खिन्नपना निराशा !


सर्वत्र नै प्रकृतिको हँसिलो मुहार

देखाउँदो छ दुनियाँसित बारबार

न्यानो छ घाम पनि ताप्न हुने पहार

आनन्दको प्रकृति रम्य सदावहार !


देख्तै पहेँलपुर सुन्दर धान–खेत

हाँस्दो किसान अनुहार प्रसन्न चेत

कर्मिष्ठ जाँगर भए भरिने भकारी

पूजा निरन्तर गरून् श्रमका पुजारी !


निथ्रुक्क भिज्न सकियोस् पसिना सिँचेर

बाली सजाउन सकौँ श्रमले जुटेर

खाद्यान्न टन्न भरिपूर्ण बनून् भकारी

साकार होस् न सपना बिपना सपारी !


पारेर जागृत किसान हटून् समस्या

जीवन्त होस् कृषकको श्रमको तपस्या

उब्जाउ पार्न सकियोस् सब खेत–बारी

सम्पन्नता फल फलोस् सपना उमारी !


आकाशसाथ धरती पनि मुस्कुरायो

सन्तोष प्राप्तिसँग सृष्टि–कला सुहायो

ऊर्जा उमार्न सकियो क्षमता जुटाई

आएछ मङ्सिर अहो ! सपना सजाई ! 

Author

प्रह्लाद पोख्रेल