गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ८ गते । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो ।
विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीको ठूलो भुमिका रहेको उल्लेख गर्दै सहयोगा लागि चीन सरकारलाई धन्यावाद दिनुभयो ।
उहाँले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरु आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभइ काठमाडौं जिल्लाभर सेवा बिस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।
“यस चिकित्सालयलाई अगाडि बढाउनका लागि सहयोगहरु जसरी आइरहेको छ, अगामी दिनमा अझ तिब्र रुपमा बढोस् भन्ने कामना गर्दछु । यस चिकित्सालयले टोलबासीलाई मात्र नभएर काठमाडौंको सम्पुर्ण उत्तर पश्चिमतिरको क्षेत्रका नागरिकका लागि सेवा बिस्तार गरोस्” उहाँले भन्नुभयो ।
उहाँले विंस. २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आईपुग्दा अस्पतालको रुपमा विकास हुनु खुशीको कुरा भएको बताउनुभयो ।