• १२ पुस २०८१, शुक्रबार

उत्कृष्ट करदाता सम्मानित

blog

सम्मान पश्चात लिइएको सामुहिक तस्बिर । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मंसिर ८ गते । करदाता सेवा कार्यालय गुल्मीले जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को समापन कार्यक्रममा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । 

गत आर्थिक वर्ष २०७९–८० मा गुल्मीमा सबैभन्दा बढी कर तिर्ने अर्जुन विल्डर्स एण्ड कन्स्ट्रसन प्रालिका सञ्चालक लक्ष्मी खनाल र विजय खनाललाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सम्मान गर्नुभएको हो । 

उक्त फर्मले गत आर्थिक वर्षमा सबैभन्दा बढी २५ लाख ३६ हजार तीनसय ६७ रुपियाँ १३ पैसा कर तिरेको छ । कार्यालयले विभिन्न पालिका तथा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरेको छ । जसमा गुल्मी जिल्लाका वित्तीय संस्थाबाट सबैभन्दा बढी आयकर तिर्ने गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उद्योगतर्फ सबैभन्दा बढी आयकर तिर्ने बबिता फर्निचर उद्योग तथा नमुना कृषकको रुपमा नमुना कृषि फर्मलाई सम्मानित गरिएको कर अधिकृत विक्रम पन्थीले जानकारी दिनुभयो ।

कार्यालयले पालिकामा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरेको छ । जसमा कालीगण्डकी गाउँपालिकाबाट टिष्टा विल्डर्सका सञ्चालक चोकबहादुर कुँवर, सत्यवतीबाट सिद्धबाबा सप्लायर्सका ऋषिराम पाण्डे, चन्द्रकोटबाट चन्द्रकोट कन्स्ट्रक्सनका सञ्चालक विरबहादुर थापा, छत्रकोटबाट बाँसुरी निर्माण सेवाका जमुना न्यौपाने सम्मानित हुनुभएको छ ।  

रुरुक्षेत्रबाट कमल ब्रदर्श ट्रेड एण्ड सप्लायर्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठ, गुल्मीदरबारबाट रुरु रेसुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक राजु कार्की, मुसिकोटबाट डा. सुदर्शन थापा क्षेत्री, इस्माबाट हरीबहादुर खत्री, मालिकाबाट नरेन्द्र जिसी, धुर्कोटबाट काफलपानी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक आशा थापा र मदानेबाट लक्की कन्स्ट्रक्सन निर्माण सेवाका सञ्चालक मनिराम थापा सम्मानित हुनुभयो । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी पदम पोखरेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएको भन्दै सरकारले करको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।