ब्रसेल्स, मङ्सिर ८ गते । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटबिच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल भएको छ ।
नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबिच बैठक भएको हो । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आक्रामकरुपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिनुभएको थियो भने नेटोको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको थियो ।
गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रुटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ ।
नेटोका सहयोगीहरुले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् । बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रुटले भन्नुभयो, “उत्तर कोरिया, इरान, चीन र निश्चितरुपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।”
उहाँले भन्नुभयो, “रुसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उहाँले ट्रम्पसँग छलफल गर्नुभएको छ ।” रासस एएफपी