हो, सिङ्गो एक युग बाँचिसकेँ
गोधूलि साँझ झैँ भइसकेँ
कहिले ढल्छु पत्तै छैन !
सम्झिन्छु— उमेर छँदा
धीत मरुन्जेल हाक्पारे गाउन पाइनँ
धोको फेरेर च्याब्रुङ बजाउन पाइनँ
काँधमा काँध हालेर देउडा खेल्न पाइनँ
परिवर्तन नियाल्न भ्याइनँ ।
सायद, क्रान्ति र अभावको भिन्नता बुझ्न सकिनँ
किनकि शितल सिमली छायामा बस्दा पनि
सधैँ जिम्मेवारीको रापले पोलिरह्यो
समयले जाँतो बनी जिन्दगीलाई पिनिरह्यो
परिस्थितिले अभावको साङ्लो बाँधी
बाध्यताको कठघरामा उभ्याइरह्यो ।
त्यसैले हो कि
कहिल्यै आएन त्यो ‘एक जुगको एक दिन’
खै, कहिल्यै आएन त्यो ‘एक युगको एक दिन’
मेरा यी धमिलिएका आँखाले नदेखेका पो हुन् कि
यी कानले परिवर्तनको बिगुल नठम्याएका पो हुन् कि !
सपना मैले पनि देखिसकेँ
उस्तै रिमालको आमाले देखेको सपना
र मेरी आमाले देखेको सपना
सायद, देख्दादेख्दै सपना जुनी–जुनी कटाइसकेँ ।
धेरै देखेँ, नायक–खलनायकको चित्र
बुझ्न सकिनँ कि समयको यथार्थ चित्र
तर भन्दिनँ म हारिसकेँ
आगत नदेखेर दोबाटोमै थाकिसकेँ
बाँच्न त म एक युग बाँचिसकेँ
हो म एक युग बाँचिसकेँ ।