भनिन्छ, साहित्य समाजको ऐना हो । समाजमा हुने घटनालाई कथाका रूपमा समाजले स्वीकार गर्छ । जुनसुकै धर्म, संस्कृति र परम्पराका किन नहुन्; ती सबैमा कथा छन् । कथा कतिपय भोगाइका हुन्छन् त कतिपय काल्पनिक । अधिकांश कथा यथार्थ र काल्पनिकता मिश्रित हुन्छन् । ती सुन्नमा आकर्षक र विस्मरणमा नजाने खालका हुन्छन् । त्यस्तै कथा, भोगाइ अनि काल्पनिकता मिश्रित उपन्यास हो, ‘उज्यालो औँसी’ । यसमा लेखक अनिता कोइरालाले अनु पात्रले भोगेका यथार्थसँग काल्पनिकता घोलेकी छन् । लेखकको सफलता पनि यसैमा मान्नु पर्छ कि ? यथार्थ र काल्पनिकताबिचको रेखाको धर्सो नदेखाउनु । शिखा बुक्सले प्रकाशन गरेको यो उपन्यास १८४ पेजको छ । पढ्दा लामो र पट्यारलाग्दो छैन ।
‘मेटाफोर’
उपन्यासको सुरुवात एउटी छोरी भ्रूणमा रहँदै घटनाक्रम नियालेको ‘मेटाफोर’ बाट हुन्छ, जुन घटनाव्रmम तत्कालै हुनेवाला छन् । उपन्यासकी पात्र अनु भ्रूण अवस्थामै हुँदा समयलाई आफ्नो नियन्त्रणमा लिँदै संसार घुम्ने सामथ्र्य राख्छिन् । भ्रूण अवस्थामै पिता रघुको हत्या योजनाबारे जानकार रहेको स्थितिसँगको साक्षात्कार भएको कल्पना नै उपन्यासको सबैभन्दा सुन्दर पक्ष हो । त्यो भ्रूणलाई सबै घटनाक्रम थाहा हुन्छ तर ऊ कति निरीह हुन्छ भने त्यसलाई रोक्न र त्यसका बारेमा कसैलाई भन्न सक्दैन । न त आसन्न सङ्कट टार्न सक्ने हुन्छ । भ्रूणको ध्राणशक्ति कतिसम्म जबरजस्त छ भने हत्या योजना बनाउनेको राजनीतिका कुटिल चाल पनि पर्गेल्ने शक्ति उसले राख्दछ । हत्याको योजना बनाउनेहरूको संवाद साँच्चै मथिङ्गल हल्लाउने खालको छ । भ्रूणले मानवलाई मानवीय गुणसहित जिउन आग्रह गरिरहन्छ न कि मारकाट, हत्या, हिंसामा सहभागी हुन ।
एक प्रसङ्गमा भ्रूणले अनुभूति गर्छ, सिर्जनशीलता मानवको गुण हो तर उसलाई विनाश मन परेको देखेर मलाई आमाको गर्भमै बसिरहन मन लाग्यो । भ्रूणले आफ्ना पिताको हत्यापछि आफू गर्भे टुहुरी हुने कुराले विक्षिप्त भएको पक्ष निकै संवेदनशील छ । बाह्य चेतना नभए पनि भ्रूणलाई आफ्ना अभिभावकप्रति माया, प्रेम हुनु सायद प्रकृतिको विशेषता होला । लेखक भ्रूणदेखि सफल शिक्षक भई गाउँमा महिला सशक्तीकरणमा भूमिका खेलेको क्षणसम्म आफ्नो बुवासँगै रहेको कल्पना गर्छिन् । बुवा र उहाँले प्रयोग गर्ने सेतो घोडाले उनलाई हर मोडमा पछ्याइरहन्छन् । बुवासँगको सामीप्यताको कतिसम्म कल्पना गर्छिन् भने मेरा पोल्टाभरि ताराहरू बटुलेर हालिदिनुभयो । हामीले जूनमा पुगेर ताराहरूको गट्टा खेल्यौँ । लेखकले भ्रूणको ‘मेटाफोर’ लाई गजब तरिकाले बुनेकी छन् ।
सशक्त नारी हस्ताक्षर
उपन्यासका सशक्त पात्रहरू नारीहरू नै छन् । लेखकले अनु, उनकी विधवा आमा, हजुरबाले गृहत्याग गरेपछिकी हजुरआमा, चिने जस्ता नारी पात्रमार्फत समाजका होचो अर्घेलो, थिचोमिचो र आमधारणालाई बडो सरल तरिकाले तर जबरजस्त रूपमा भनेकी छन् । उपन्यासकी मुख्य पात्र अनु आफैँ द्वन्द्वबाट क्षतविक्षत भएको मनोविज्ञानबाट उठेर समाजकी एक उदाहरणीय शिक्षक हुन्छिन् । उनी गहिरो मानसिक ‘ट्रमा’ बाट बाहिर निस्कन अथक मेहनत गर्छिन् । पिताको मायाबाट वञ्चित बनेको मानसिक पीडाले उनलाई विक्षिप्त बनाएको छ । समयक्रममा अनुलाई चिडचिडाहट, वेचैनी, रिस, आवेग जस्ता समस्याले हैरान पारेको छ ।
समाज कतिसम्म निर्घिणी छ भने गर्भमा रहेको सन्तानका विषयमा पनि लिङ्गद्वेषी चरित्र देखाउँछ । छोरीको सङ्ख्या थपिनुभन्दा त अमिलो खाएर गर्भ नै खेर फाल्दा ठिक हुनेसम्मका तर्क उठ्छन् । यस्ता तर्क वितर्कचाहिँ अक्सर महिला समुदायमा बढी देखिन्छन् । त्यस्ता तर्कनाहरूको प्रतिवादमा गर्भभित्रैबाट अनुले प्रतिवाद गर्छिन्, “मलाई गर्भमै मार । म पनि आउन चाहन्नँ यो घिनलाग्दो मानव बस्तीमा ।”
अर्की पात्र हुन्, अनुकी आमा । उनी श्रीमान्को अकल्पनीय हत्यापछि ठुलो पारिवारिक संरचनाकी अभिभावक हुन्छिन् । लेखकले त्यस्ती नारीप्रति समाजले निर्माण गर्ने धारणाको लेखाजोखा राम्रैसँग उतारेकी छन् । पतिको शव चितामाथि राख्दानराख्दै यता समाजले कलुषित आँखाले मूल्याङ्कन गर्न थालिसक्छ । सम्बन्धहरूले तराजु बोकेको विम्ब सारै चोटिलो छ । पीडामा पनि सन्तानको भविष्यका लागि आफू कमजोर नहुनेमा आमा दृढ छिन् । अझ बा र आमा दुवैको भूमिका निर्वाह गर्ने बताउँछिन् । किनमेलदेखि अड्डा अदालतसम्म धाउने व्रmममा उनमा नजानिँदो धैर्य र साहसको विकास हुन्छ । उनले एकल महिला भएर उठाएको आर्थिक, सामाजिक, पारिवारिक दायित्व र कर्तव्य लरतरो छैन ।
त्यसै गरी अनुकी हजुरआमा जो श्रीमान्ले गृहत्याग गरेपछि पनि परिवारलाई समालेर दृढ भएर बाँच्छिन् । समाजका यावत् प्रश्न र विवेचनाको खासै वास्ता गर्दिनन् । आफ्ना छोराको बिहाबारी गरी नातिनातिना हुर्काउन उनले गरेको सङ्घर्ष आजका दिनमा मिथक जस्तो छ ।
राजनीतिक दाउपेच
विशेष गरेर रघुको हत्या पनि राजनीतिको चक्रमा परेर भएको छनक मिल्छ । खोलावारि र पारिका विचारले तत्कालीन समाजमा विचारको दुई धार रहेको र त्यसकै पेरिफेरीमा रघुको हत्या भएको अनुमान गर्न सकिन्छ । जनकपुर जाने क्रममा पाटु भन्ने स्थानमा रङ्गनाथले आफ्ना आसामी शमशेरमाथि गरेको व्यवहारको प्रतिकार गरेपश्चात् रघुप्रति रङ्गनाथ नाखुस हुन्छन् । सम्भवतः रघुप्रति रङ्गनाथको त्यही तुष नै हत्यासम्म पुगेको हो कि भन्ने अनुमान माधव काकाले लगाउँछन् । रघुको हत्यापश्चात् खोलावारि र पारिका विचारको घर्षणको निहुँमा एक विचार मार्न अर्को विचारको प्रयोग गर्ने पक्षलाई बडो कुटिल पाराले उतारेकी छन् । हत्याका योजनाकारले आफूले बनाएको योजनाले रघु त मारिन्छन् नै, सँगसँगै त्यो बहानामा समाजको अर्को पक्षलाई फसाउने छु र त्यसै मेसोमा आफ्ना विरोधीलाई निमिट्यान्न पार्ने छु भन्ने आत्मविश्वास प्रकट गर्छ ।
हुर्कंदै गएपछि अनुले आफ्नो बुवाको हत्या हुनुको प्रमुख कारण सामन्ती हो भन्ने सुन्छे । तब उसको जीवनमा सबैभन्दा कौतूहलको विषय सामन्तीको अर्थ खोज्नमा बितेको पाइन्छ । ऊ हरेकसँग सामन्तको परिभाषा सोध्छे, सामन्तको व्यवहार कस्तो हुन्छ परख गर्छे । त्यस व्रmममा कथाको शीर्षक नै छ, म पनि सामन्ती हुन्छुु । समाजका सबै पक्षसँग अन्तर्वि्रmया गरेपछि आफ्ना बुवा समाजसेवी रहेछन् । समाजसेवी व्यक्ति सामन्त हुन्छ भने सबै मान्छे सामन्त हुन खोज्ने छन् भन्ने अनुको निष्कर्ष छ ।
उत्प्रेरणात्मक र मनोवैज्ञानिक पक्ष
उज्यालो औँसी उपन्यासका साथसाथै एक उत्प्रेरणात्मक दस्ताबेज पनि हो । गर्भे टुहुरी अनु जीवनका अनेक उखडबाखड पार गर्दै समाजमा एक आदर्श शिक्षकका रूपमा स्थापित हुन्छिन् । त्यो यात्रा पार गर्ने व्रmममा उनले बौलाही, बाबु टोक्कुई, अलच्छिना, भङ्जाही, अधबेस्री जस्ता उपमा पाइन् तर त्यस्ता काँडाहरूको अवरोधका बिच उनले आफ्नो गतिलाई कहीँ रोकिनन् । जब उनी लडखडाउँथिन्, संयोगले केही पथप्रर्दशक गुरुहरूसमेत भेटिन् । जीवन सङ्घर्ष हो भन्ने तथ्यलाई लेखकले पुष्टि गरेकी छन् ।
वास्तवमा द्वन्द्वले समाजलाई तल्लो तहदेखि नै पीडा दिएको हुन्छ भन्ने एक सजीव उदाहरण हो, यो उपन्यास । द्वन्द्वले सबैभन्दा बढी बालबालिका र महिलालाई आघात पु¥याउँछ भन्ने मान्यता पुनः पुष्टि भएको छ । एउटा द्वन्द्वको अवतरण नहुँदै अर्को द्वन्द्वले नेपाली ग्रामीण क्षेत्र कस्तो त्रासमा बाँच्यो, त्यसको पनि झलक उपन्यासमा पाउन सकिन्छ । द्वन्द्वग्रत समाजमा मानिसहरू विवेकशून्य हुन्छन्, जुन समाजमा अनुले बाँकी जीवन बिताउनुपर्ने कुरा सम्झिँदा पनि कहाली लाग्ने बताउँछिन् ।
प्रेमको लालित्य
मानिन्छ, जीवन सप्तरङ्गी हुन्छ । शिक्षा, सङ्घर्ष, अर्थोपार्जन, प्रेम, विवाहलगायतका चरण पार गर्दै मानव पूर्ण हुन्छ । यस उपन्यासमा पनि गर्भे अवस्थादेखि नै षड्यन्त्र, हत्या, अपहेलना आदि बेहोर्दै हुर्किएकी अनुको जीवन अनेक मोडहरू पार गर्ने क्रममा प्रेममा पनि ठोक्किन पुग्छ । कालो सिसा भएको हेलमेट लगाएर पिछा गर्दै टेलिफोनमा गीत सुनाउने अज्ञात व्यक्तिको एकोहोरो प्रेमदेखि सुमिरनप्रतिको अनुको प्रेमसम्म । अज्ञात व्यक्तिको प्रेमले पीडा दिएको छ भने सुमिरनसँगको काल्पनिक प्रेममा अनु आनन्दित र ऊर्जाशील हुन्छिन् । विडम्बना के छ भने न अज्ञात व्यक्तिको न त अनुको प्रेम नै सफल हुन्छ । प्रेमको हिसाबले यो दुःखान्त उपन्यास हो ।
उपन्यासको नाम नै आध्यात्मिक पक्षबाट बगे जस्तो लाग्छ । पात्र अनु विराट् चेतना र अनन्तप्रकाशबाट डोहोरिन्छन् । उनलाई तेस्रो नेत्र, तत्वविज्ञान, आत्मज्ञान, सूक्ष्म शरीर, नाशवान् शरीर, अमर चेतना, सत्यको बोध, परम् प्रकाश जस्ता पक्षले घेरिरहन्छन् । उपन्यास पढिरहँदा लाग्छ कि यो कुनै आध्यात्मिक दस्ताबेज पो हो कि ? जोगी, योगी, गुरुहरूसँगका साक्षात्कारले पनि यसमा गोडमेल गरेकै छन् । अनुकी आमाले आफू समालिन ध्यानको शक्ति उपयोग गरेको पाइन्छ । अन्त्यमा, चाहे आख्यान पढौँ या गैरआख्यान– त्यसले आफ्नो परिवेश, समाज, संस्कृति र रहनसहनका बारेमा बोल्नु पर्छ । त्यसमा उज्यालो औँसीमा केही कमजोरी देखिन्छन् । जुन परिवेशको कथा भनिएको छ, भौगोलिक रूपले त्यो क्षेत्र चुरेको फेद र भित्री मधेशका रूपमा रहेको छ । त्यस क्षेत्रमा मानिने चाडबाड, संस्कृति, सामाजिक संरचनाको झलक, पर्यावरणको चर्चा, चुरे क्षेत्रको महत्व जस्ता पक्ष यसमा छुटेका छन् ।