सहरको सौन्दर्य बढाउन हरियालीको महत्वपूर्ण भूमिका रहन्छ । हरियालीले वायुको गुणस्तर वृद्धि गर्न र सौन्दर्य बढाउन सहयोग गर्छ । त्यसैले सहरका लागि हरियाली अति आवश्यक हुन्छ ।
विश्वका सबै सहरमा हरियालीको व्यवस्थित व्यवस्थापन गरिएको पाइन्छ । नेपालका सहर र सडक किनारामा रुख, बिरुवा लगाएर सजाउने गरिएको पाइन्छ । देशको राजधानी भएका कारणले काठमाडौँका सडकमा हरियाली र सौन्दर्यीकरणको अझ महत्व छ । खास गरी सहरमा निर्माण हुने भौतिक संरचना (जस्तै : भवन, उद्योग, सडक आदि) र त्यस स्थानमा बसोबास गर्ने समुदायको स्वास्थ्यका लागि हरियाली विकासको आवश्यकता हुन्छ । त्यसका लागि वृक्षरोपण र हरियाली संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
वृक्षरोपण र त्यसको व्यवस्थापनले हावा र पानीको गुणस्तरमा वृद्धि गर्दछ । तापक्रम, ध्वनिका साथै विकिरण घटाउने कार्यमा समेत सहयोग पु¥याउँछ । जसले गर्दा सहरको वातावरण शुद्ध बनाउँछ र स्वस्थ जीवनशैलीका लागि शक्ति प्रदान गर्दछ । त्यसैले सहरी वनको व्यवस्थापन गर्ने गरिन्छ । सडकमा लगाइएका रुख, बिरुवालाई सहरी वनका रूपमा लिने गरिन्छ । सहरी वनको व्यवस्थापनले सहरी क्षेत्रमा वायु एवं ध्वनि प्रदूषण नियन्त्रण गर्ने, कार्बन सञ्चिति वृद्धि गर्ने, अक्सिजन उत्पादन बढाउने तथा हरितगृह प्रभाव न्यूनीकरण गर्ने, वायुको तापक्रम नियन्त्रण गरी जलसञ्चय तथा भूसंरक्षण गर्ने, भूदृश्य सौन्दर्यीकरण गर्ने कार्यमा समेत महìवपूर्ण भूमिका निर्वाह गर्दछ ।
काठमाडौँ उपत्यकाका सडक किनारामा हरियालीको राम्रो अनुभूति गर्न पाइन्छ । कलङ्की–कोटेश्वर चक्रपथको हरियाली, माइतीघर–सूर्यविनायक सडक, काठमाडाँैका बागमती, धोबीखोला कोरिडोरमा प्रवर्धन गरिएको हरियालीले सहरको सौन्दर्य वृद्धि गरेको छ ।
कलङ्की–कोटेश्वर चक्रपथ
कलङ्की–कोटेश्वर चक्रपथ सडक फराकिलो बनाई २०७५ सालमा चीन सरकारद्वारा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । यो खण्डको लम्बाइ १०.५ किलोमिटर छ । हस्तान्तरणपश्चात् हरियाली प्रवर्धन गरिएको छ । सडक किनारामा विभिन्न किसिमका बिरुवा लगाइएको छ । हुन त चक्रपथको यस खण्डमा के कस्ता रुख बिरुवा लगाउने भन्ने विषयमा योजनाबद्ध तरिकाले वृक्षरोपण कार्य भएको देखिँदैन । तैपनि अन्यत्रभन्दा केही सुधारात्मक ढङ्गबाट बिरुवा लगाइएका छन् । वृक्षरोपण गरिएको करिब छ वर्षपछि यहाँको हरियाली देख्न र अनुभूत गर्नलायक भएको छ । बिरुवाको छनोटमा केही कमीकमजोरी भए तापनि यहाँको हरियालीले काठमाडौँको सौन्दर्यमा वृद्धि गरेको छ । यहाँ कपुर, तेजपात, ज्याकारान्डा (निलो शिरीष), शमी, कल्की, चाँप, असारे, धुपी, पैयुँ, राजवृक्ष, यल्लो बेल (घटपुष्प), बकाइनो, जिङ्गो, पिपल, रबर, रुद्राक्ष, काँगियो, मसला, लहरे पिपल आदि प्रजातिका बिरुवा लगाइएका छन् । झाडी तथा अन्य बिरुवामा पारिजात, कामिनी, करबिर, क्यालियान्ड्रा, टुपिडेन्थस, इन्द्रकमल, पहेँलो नीलकाँडा, बेगमबेली, पहेँलो जाई आदि लगाइएका छन् ।
बिरुवाका विशेषता
चक्रपथमा कपुरका रुख प्रशस्त देख्न सकिन्छ । कपुरका रुखले चक्रपथको हरियालीलाई जीवन्तता प्रदान गरेको त छ नै, त्योभन्दा पनि यसको महत्वपूर्ण पाटो अर्कै छ । काठमाडौँको सडक किनारामा लगाइएका विभिन्न प्रजातिका बिरुवामा वायु प्रदूषण थेग्न सक्ने क्षमतासम्बन्धी सुनिता श्रेष्ठ, बद्री बराल, नारायणबाबु धिताल र सिसिएन याङसमेतको एक अध्ययनले कपुर प्रजातिका बिरुवामा सबैभन्दा बढी वायु प्रदूषणको प्रकोप थेग्न सक्ने क्षमता पाइएको देखाएको छ । यो नतिजाले कपुरको महत्व झन् बढाएको छ । त्यसो त सदाबहार रूपमा हुर्कने यो बिरुवाको हरियो रूप नै हरियालीको राम्रो उदाहरण हो । पूजापाठ तथा धार्मिक कार्यमा धूपका लागि प्रयोग गरिने कपुर पनि यही कपुरको बिरुवाबाट निकालिन्छ । चक्रपथको यस खण्डमा तेजपातका बिरुवासमेत प्रशस्त लगाइएका छन् । यो पनि सदाबहार बिरुवामध्येको प्रजाति हो । हुन त यो प्रजातिको बिरुवा मसलाका लागि प्रयोग गरिने बिरुवा हो । यसका पात तथा बोक्रा मसला र विभिन्न औषधीमा प्रयोग गरिन्छ । यसको पातबाट तेल पनि निकाल्ने गरिन्छ । त्यही प्रयोजनका लागि यसको खेती पनि गर्ने गरिन्छ । यो प्रजातिको बिरुवा सडक किनारमा कमै लगाइएको देखिन्छ तापनि चक्रपथमा राम्रै हुर्केको देखिन्छ ।
सडक किनारमा फूलैफूल
चव्रmपथको यस खण्डमा फूलका बिरुवा पनि लगाइएका छन् । तीमध्ये ज्याकारान्डा (वीरेन्द्रफूल) र असारे प्रजातिका बिरुवा मुख्य छन् । ज्याकारान्डा तथा असारे फूलले आआफ्नो फुल्ने समयमा सडकको सौन्दर्यमा वृद्धि गर्ने गरेका छन् । काठमाडौँमा वसन्त ऋतुमा फुलेर सौन्दर्य प्रदान गर्ने बिरुवामा ज्याकारान्डा एकदमै प्रसिद्ध छ । यसका प्याजी रङका फूलले सडक नै प्याजी रङमा सिँगारिन्छ । त्यसै गरी असारमा फुल्ने असारे फूलले आफ्नो सौन्दर्य पनि झल्काउँछ नै । यी दुई प्रजातिका बिरुवा काठमाडौँमा दशकौँपहिले भिœयाइएको देखिन्छ ।
त्यसबाहेक केही वर्षयता असारे फूलकै प्रजातिभित्र पर्ने प्राइड अफ इन्डिया भन्ने रुख पनि काठमाडौँमा भित्रिएका छन् । चव्रmपथको यस खण्डमा पनि यस प्रजातिका बिरुवा लगाइएका छन् । अहिले यसका प्याजी रङका फूलले चक्रपथको यस खण्डमा हरियालीका साथै सौन्दर्यमा वृद्धि गरिरहेका छन् । त्यसका साथै पहेँलो फूल फुल्ने घटपुष्पका बिरुवा पनि लगाइएका छन् । यो प्रजातिका बिरुवा लामो समयसम्म फुलिरहन्छन् । त्यस्तै गरी रातो फूल फुल्ने क्यालिएन्ड्रा पनि यहाँ राम्रै हुर्किएका देखिन्छन् । यी प्रजातिका बिरुवा काठमाडौँमा भित्रिएको धेरै भएको छैन ।
काठमाडौँका सडक राजवृक्षका फूलको सौन्दर्यले समेत छपक्कै हुन्छ । चक्रपथको यस खण्डमा एउटा अर्को शोभनीय बिरुवा थपिएको छ । त्यो हो राजवृक्ष । नक्खु दोबाटोदेखि धोबीघाटसम्मको दक्षिणी लहरमा राजवृक्ष फुलेको देख्न सकिन्छ । यो एक शोभनीय फूल फुल्ने रुख हो । अङ्गुरका झुप्पा जस्तै गरी लटरम्म फुल्ने यसका पहेँला फूल अति आकर्षक देखिन्छन् । राजवृक्षको अर्को नाम अमलतास पनि हो । यसलाइ तराईतिर बाँदरडन्डा पनि भनिन्छ किनकि यसका फल लट्ठी (डन्डा) जस्तै हुन्छन् । यो बिरुवा थाइल्यान्डको राष्ट्रिय फूल हो । राजवृक्ष औषधीय गुण भएको बिरुवा पनि हो । खास गरी तराईको वातावरणमा हुर्कने यो बिरुवा काठमाडौँमा बिरलै देखिन्छ । बबरमहलको हालको सडक विभागको दक्षिणपश्चिम कुनामा यसको एउटा पुरानो रुख छ । यो सायद राणाकालीन समयमा नै लगाइएको हुनु पर्छ । अहिले राजवृक्ष कलङ्की–कोटेश्वर चव्रmपथको विशेषता नै बन्न पुगेको छ । यसका लगभग एक सय जति बिरुवा लगाइएको देखिन्छ । हुन त राजवृक्ष रुखका लागि काठमाडौँको हिउँदे मौसमको ठन्डी र तुसारो सुहाउँदो हावापानी होइन, तैपनि अहिलेसम्म यी बिरुवा राम्रैसँग हुर्केका देखिएका छन् । प्रदर्शनीमार्गको सडकमा समेत राजवृक्षले सौन्दर्य थपेको छ । सहरी सौन्दर्य र वन विकासमा व्यवस्थित कार्ययोजना चाहिँ देखिन्न । मनलाग्दी रूपमा बिरुवा रोपिएको पाइन्छ । सडक सफाइ, सुरक्षा र फुटपाथलाई ध्यान दिएर बिरुवा रोपेको पाइन्न । त्यसमा पनि रैथाने बिरुवाको कमै लगाएको पाइन्छ । यसो हेर्दा स्थानीय हावापानीमा हुर्कने स्वदेशी बिरुवाका प्रजातिलाई प्राथमिकता दिइएको देखिँदैन । काठमाडौँको सेरोफेरोमा प्राकृतिक रूपमा पाइने पैयुँ, रातो शिरीष, पुवाँले, लेख पाङ्ग्रा, वनचाँप आदि जस्ता प्रजातिलाई प्राथमिकतामा राख्न सकेको भए अझ राम्रो हुने थियो ।
व्यवस्थापनमा ध्यान
चव्रmपथको हरियाली व्यवस्थापन र स्याहार नेपाल सरकार, वन तथा भूसंरक्षण विभागको सहकार्यमा एनसेल एजियटा कम्पनीले गर्दै आएको छ । एनसेलले जिम्मा लिइसकेपछि यहाँको खाली भुइँमा घाँस लगाई हरियो बनाउने कार्य गर्नका साथै अन्य शोभनीय रुख तथा झाडी पनि थपिएका छन् । समग्रमा कलङ्की–कोटेश्वर चव्रmपथको हरियालीमा केही कमीकमजोरी भए पनि यसले काठमाडौँको सौन्दर्य र हरियाली वृद्धि गर्न सहयोगी बनेको छ । सहरको पर्यावरण सुधारमा आयाम थप्नुका साथै प्रदूषण कम गर्नमा सकारात्मक भूमिका निर्वाह गरेको छ । तथापि केही कमजोरी छन् । कुनै कुनै स्थानमा मसला, काँगियो र लहरे पिपलका अग्ला बिरुवा पनि छन् । यी बिरुवा राख्नै नहुने भन्ने छैन तर दुर्घटना हुनबाट रोक्नका लागि बिरुवाको काँटछाँट गरी आवश्यक रूपमा आकार मिलाउँदा उचित हुन सक्छ । त्यस्तै गरी कपुरका रुखलाई पनि धेरै ठुला आकारमा राख्न उचित हुँदैन । हाल यिनीहरूको आकार ठिकै देखिन्छ तर केही वर्षको अन्तरालपछि यिनीहरूका हाँगा फैलिएर धेरै स्थान ओगट्ने र हावाहुरीको समयमा हाँगा भाँचिने डर पनि रहन्छ । तसर्थ बिरुवाको काँटछाँट गरी सुहाउँदो आकार मिलाएर राख्नुपर्ने हुन्छ ।
व्यवस्थापनको कुरा गर्दा अर्को महत्वपूर्ण कुरा हो, बिरुवाको स्वास्थ्य । चक्रपथको यस खण्डमा तेजपातका धेरै बिरुवा लगाइएका छन् । यो पनि हरियालीका लागि सुहाउँदो बिरुवा हो तर केही बिरुवा सुकेका देखिन्छ । यी बिरुवा के कारणले सुकेका हुन्, यतातिर पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ । हुन त चक्रपथमा पूर्वयोजनाबिना नै वृक्षरोपण गरिएको देखिन्छ । तथापि चक्रपथको वृक्षरोपण काठमाडौँका अन्य सडकको भन्दा व्यवस्थित ढङ्गले गरिएको देखिन्छ ।