गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ८ गते । गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार उक्त निर्देशिका जारी गरेको हो । संशोधनपछि सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्ने भएको छ ।
पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउन सेयर निष्कासन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गर्न बोर्डले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गर्दै बोर्डले निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी हुने छन् । यस्ता कम्पनीले सेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा परिच्छेदबमोजिमको प्रक्रिया पूरा गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था छ ।
निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले सेयर निष्कासन गर्दा जारी पुँजीको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीका लागि मात्र सेयरको निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।
संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले निष्कासन गर्ने सेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुने छ । निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्ने छ र सोको जानकारी बोर्डलाई दिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।
यस्ता कम्पनीले निष्कासन गर्ने सेयरमा दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणाङ्कमा हुने गरी व्यवस्था गर्नुपर्ने छ । सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रतिसेयर अङ्कित मूल्यको शतप्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्थाले गैरआवासीय नेपालीका लागि विद्युतीय माध्यमबाट सेयर आवेदन दिने व्यवस्था गर्न सक्ने छ । आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता, राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।