• ९ पुस २०८१, मङ्गलबार

देश बनाउने अभियानमा सबै एक हौं : लिङदेन

blog

कैलालीको घोडाघोडी नगरपालिका २ साँडेपानीमा आयोजित आमसभालाई सम्वोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देश बचाउने र बनाउने अभियानमा सबैजना एक हुनुपर्ने बताउनुभएको छ । 

शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका –२ साँडेपानीमा आयोजित आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले देशको विकासका लागि पर्याप्त सम्भावना हुँदाहुदै काम हुन नसकेको बताउनुभयो । 

उहाँले इमान्दारितापूर्वक काम गर्न सके देश बनाउन धेरै समय नलाग्ने बताउनुभयो । विकासका लागि सम्भावना भएर पनि विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “बिजुलीबाट सुविधा लिनसके देश धनी र सम्पन्न हुनसक्छ, हाईड्रोजनमा परिवर्तन गरेर बिजुली बिक्री गरेर आम्दानी गर्न सकिन्छ, कृषिमा प्रयोग गर्न सकिन्छ, प्राकृतिक स्रोत साधनको सदुपयोग हुन सकेको छैन ।”

जलस्रोतले धनी देश भएर पनि संसारको सस्तो विजुली बनाउन र विदेशी लगानीकर्तालाई आकर्षण गर्न नसकेको आरोप अध्यक्ष लिङ्देलको भनाइ थियो । उहाँले नेपाल हिन्दु र बौद्ध धर्मको मुलथलो भएको उल्लेख गर्दै धर्मलाई पर्यटनसँग जोडेर सही प्रचार हुन नसकेको समेत बताउनुभयो । 

अध्यक्ष लिङदेनले देशको वर्तमान व्यवस्था र २०८४ को चुनावलाई मध्यनजर गरेर यतिखेर आफूहरु जनताको नाडीछाम्न हिडेको बताउनुभयो । उहाँले जनताको भावना बुझेर देशको अवस्था र व्यवस्था परिवर्तनका लागि विद्रोह र आन्दोलनको बाटो अपनाउन पनि आफ्नो पार्टी तयार रहेको घोषणा गर्नुभयो ।

आमसभामा पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले सम्वोधन गर्नुभएको थियो । प्रवक्ता शाहीले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभियानमा पार्टी लागेको बताउनुभयो । उहाँले कृषिबाट देश कसरी समृद्धि बन्छ भन्नेकुरा इजरायलबाट सिक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी घोडाघोडी नगर समितिका अध्यक्ष शेरबहादुर बोहराको अध्यक्षतामा आमसभा सम्पन्न भएको थियो ।