मीना कँडेल
कावासोती, मङसिर ७ गते । नवलपुरको देवचुलीमा शुक्रबारदेखि प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका –१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप सञ्चालन हुन लागेको हो ।
देवचुलीको खेल क्षेत्रलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने साथै खेलाडीलाई राष्ट्रियस्तरसम्म पहुँच बनाउन सहयोग मिल्ने शान्तिदीप युवा क्लबका अध्यक्ष अमर घर्तीमगरले बताउनुभयो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहनेछ ।
चितवन, नवलपरासी पश्चिम, नवलपुरलगायतका जिल्लाबाट प्रतियोगी सहभागी हुने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ७५ हजार रुपियाँ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उपविजेता हुने टिमले १ लाख ५० हजार रुपियाँ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपियाँँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि नगदले पुरस्कार गर्ने जनाइएको छ ।
उद्घाटन खेलमा शुक्रबार वातासिन योङ स्टार कावासोती र युनाइटेड युवा क्लब हुप्सेकोटबिच खेल हुने देवचुली –१० का वडा अध्यक्ष रेप्तिकुमार घर्ती मगरले बताउनुभयो । स्थानीय खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्दै आफूलाई चिनाउन सक्ने भएकाले नगरस्तरीय रङ्गशालामा मङ्सिर २२ गतेसम्म खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।