• ११ पुस २०८१, बिहिबार

‘यो वर्षदेखि अस्पताल सञ्चालन हुन्छ’

blog

हरिपुर्वा नगरपालिका २०७३ फागुनमा नेपाल सरकारको निर्णयानुसार साबिक गाविस हरिपुर्वा, वसन्तपुर र धनकौल पूर्व सम्मिलित गरी गठन गरिएको नगरपालिका हो । नगरपालिका सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगस्थित सीमावर्ती क्षेत्रनजिक पर्छ । अधिकांश स्थानीय कृषि पेसामा आबद्ध छन् । नौ वटा वडामा विभाजित नगरपालिका गठन भएदेखि नै राजनीतिक किचलोका कारण विकासका कामले गति लिन सकेको छैन । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख विनोदकुमार साह तेलीसँग गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्रीले गर्नुभएको कुराकानी :

यहाँले अहिलेसम्मको आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ? 

निर्वाचित भएर आएदेखि राम्रोसँग बजेट चलाउन पाइएन । गत आर्थिक वर्ष फागुनमा बल्लतल्ल बजेट पारित गराएँ । त्योभन्दा अघिल्लो आवमा निर्वाचित भएर आउँदा अगाडिकै जनप्रतिनिधिले सबै जसो बजेट खर्च गरिसकेका थिए । बल्ल यो वर्ष असारमा नै बजेट ल्याउन सफल भएका छौँ । अब काम गरेर देखाउने बेला आएको छ । हरिपुर्वाले बेलैमा बजेट ल्याउँदैन, विवाद मात्रै हुन्छ भन्ने टीकाटिप्पणीको यो वर्ष अन्त्य गर्न सफल भएका छौँ । यसलाई पनि उपलब्ध ठानेका छौँ । पहिलेका जनप्रतिनिधिको कार्यकाल विवादमै बित्यो । हामी पनि दुई वर्षसम्म त विवादमै फस्यौँ । अब त्यस्तो छैन । सर्लाहीका २० पालिकामध्ये गत असारमा हामीले नै सुरुमा बजेट पारित गर्न सफल भयौँ । यो आर्थिक वर्षमा काम गरेर देखाउँछौँ । 

के अहिले यहाँका जनप्रतिनिधिबिचको विवाद समाधान भएको हो ? 

मैले सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास गरिरहेको छु । त्यसैको परिणामस्वरूप पहिलो पटक असारमै बजेट पारित गराउन सफल भएँ । यहाँ त मन्त्री, मन्त्रालय, सांसदले प्रमुख प्रशासकीय अधिकृत टिक्नै नदिने परिपाटीले पनि असाध्यै दुःख पायौँ । कसैलाई एक घण्टामा, कसैलाई बाटोबाटै र कसैलाई हाजिर हुनेबित्तिकै सरुवा गरिन्थ्यो । अहिले बल्ल त्यो व्रmम रोकिएको छ । हामी जनप्रतिनिधिबिच अहिले कुनै समस्या छैन । अब हामी नजिता दिने गरी काम गर्छौं । 

यो वर्षको बजेटमा के के शीर्षक प्राथमिकतामा परेका छन् ?

यहाँ हुलाकी सडकबाहेक पालिका अन्तर्गतको सडक कहीँ कतै कालोपत्रे भएको छैन । सडकको अवस्था सबैभन्दा खराब छ । हामी यो वर्ष भित्री सडकको ढलान कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै छौँ । शिक्षा पनि प्राथमिकतामा छ । राम जानकी माध्यमिक विद्यालय वसन्तपुरमा सुविधासम्पन्न भवन निर्माणका लागि यो वर्ष आठ करोड रुपियाँ बजेट प्राप्त भएको छ । त्यसको शिलान्यास भएर धमाधम काम भइरहेको छ । यहाँ विद्यालयमा विषयगत शिक्षकको अभाव छ । शिक्षकको परीक्षा सञ्चालन गर्दा एक जना उम्मेदवार पनि उत्तीर्ण हुनु भएन । फेरि शिक्षकको विज्ञापन गर्ने तयारीमा छौँ । दरबन्दी अनुसारको शिक्षक सरकारले पनि दिन सकेको छैन । स्वास्थ्य पनि हाम्रो प्राथमिकतामा छ । किसानलाई सिँचाइ सुविधाका लागि कृषि विद्युतीकरण, बोरिङ गाड्नेलगायतका काम गर्दै छौँ । 

हरिपुर्वामा पन्ध्र श-याको अस्पताल निर्माण भएको तीन वर्ष भइसक्यो । अझै सञ्चालन हुन सकेको छैन । उक्त अस्पताल सञ्चालनका लागि नगरपालिकाले के गर्दै छ ? 

हामीले गत वर्ष नै अस्पताल सञ्चालनका लागि एक करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरेका थियौँ तर समयमै बजेट चल्न सकेन । अस्पताल भवन अलपत्र रहँदा हामीलाई पनि अप्ठेरो लागेको छ । यो वर्ष पुनः अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । चिकित्सक नियुक्तिको प्रव्रिmया अगाडि बढिसकेको छ । अस्पतालसम्म गर्भवती ल्याउन निःशुल्क एम्बुलेन्सको प्रबन्ध गर्ने योजना छ । यो वर्ष नै अस्पताल सञ्चालनमा आउँछ । यहाँका गर्भवती तथा अन्य मानिसलाई सामान्य औषधी उपचारका लागि जनकपुर, वीरगन्ज जानुपर्ने बाध्यता अन्त्य गर्न लागि पर्दै छौँ । बाँकी कार्यकालमा अधुरा र अलपत्र रहेका सबै काम पूरा गर्ने लक्ष्य छ । 

नगरपालिकाको आफ्नै भवन छैन । बाँके–त्रिभुवननगर हुलाकी सडकको काम लामो समयदेखि रोकिएको छ । यसका लागि नगरपालिकाले के कस्तो पहल गरिरहेको छ ?

नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । यसअघि बेलैमा बजेट सञ्चालन नभएको र विवाद भएका कारण समस्या भएको हो । अब हामी नगरपालिकालाई प्राप्त जग्गामा नै भवन निर्माणको पहल थाल्दै छौँ । यहाँ हुलाकी सडकको काम हुन नसक्नु सडकको ‘साइड क्लियर’ नभएर हो । रोकिएको काम अगाडि बढाउन हुलाकी सडक आयोजना, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई अनुरोध गरेका छौँ । बाँके–त्रिभुवननगर सडक त हाम्रो मुख्य सडक नै हो । यसलाई जसरी पनि निर्माण गर्नु पर्छ । हाम्रो नगरभित्र नै पूर्वी भेगलाई लक्षित गरी विद्युत् सबस्टेसनसमेत तयार भइसकेको छ । केही दिनभित्रै सञ्चालन हुन लागेको सबस्टेसन चालु भएपछि हाम्रो क्षेत्रमा प्रमुख समस्याका रूपमा रहेको अनियमित विद्युत् कटौती र भोल्टेजको समस्या समाधान हुन्छ । 

यहाँ अधिकांश स्थानीय कृषि पेसामा आश्रित छन् तर किसानले पालिकाबाट केही नपाएको गुनासो गर्छन् । पालिकाले किन किसानका समस्या बुझेन ? 

विवादबिच अन्तिममा बजेट आउने र हतारमा सक्नुपर्ने चटारोका कारण किसानका लागि केही गर्न नसकिएकै हो । हामीले गत वर्ष केही ठाउँमा सिँचाइ सुविधा पु¥यायौँ । यो वर्ष पनि सिँचाइको अभाव रहेको ठाउँमा स्यालो ट्युबेल र डिप बोरिङ गाड्दै छौँ । जहाँ जहाँ किसानको खेतमा विद्युत् पुगेको छैन, त्यहाँ बिजुली पु¥याउने काम पनि यसै वर्ष गर्दै छौँ । किसानका अपेक्षा हामीसँग धेरै छ तर हामीले केही गर्न सकेका छैनौँ । हामी यो वर्ष बेलैमा बजेट ल्याउन सफल भयौँ । यो वर्ष किसानलाई केही न केही राहत हुने गरी काम गर्छौं । किसानलाई मलखादको पनि समस्या नै छ । सरकारी अनुदानको मल पर्याप्त छैन । किसानले बाध्य भएर सीमापारि भारतीय बजारमा पुगेर कम गुणस्तरको मल ल्याएर हाल्न बाध्य छन् । सीमापारिबाट त्यही भारतीय मल ल्याउन पनि सहज छैन । सीमामा सुरक्षाकर्मीले दुःख दिने गर्छन् । त्यसका लागि नगरप्रमुखको हिसाबले सहजीकरण त गरिरहेकै छु । 

कार्यकालको बाँकी अवधिमा के के काम गर्ने सोच बनाउनुभएको छ ?

भित्री सडक सबै कालोपत्रे वा ढलान गर्ने योजना छ । यहाँका सडक असाध्यै खराब भएकाले पनि नागरिकले हामीलाई धेरै गाली गर्छन् । हरिपुर्वा बजारबाट ईश्वरपुरको वडा नं. १५ तर्फ निस्कन मुख्य सडक यो वर्ष निर्माण गर्ने योजना बनाएका छौँ । नगरपालिकाको वसन्तपुर क्षेत्रका अधिकांश स्थानीयको खेत बाँके खोलापारि महोत्तरीको गौशालातर्फ पर्छ । स्थानीय जहिल्यै पनि खोलामा हेलिएर वारपार गर्न बाध्य छन् । बाढी ठुलो आएको दिन त खेतमै बस्नुपर्ने बाध्यता पनि छ । त्यो समस्या समाधानका लागि बाँके खोलामा पुल हाल्न सकिन्छ भन्ने सोच  छ । पालिका एक्लैले खोलामा लामो पुल हाल्न सक्ने अवस्था छैन । प्रदेश सरकारलाई गुहार्नुपर्ने बाध्यता छ । यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम थुप्रै छन् । व्रmमशः बजेटले भ्याएसम्मको काम गर्दै जाने छौँ ।