• ११ पुस २०८१, बिहिबार

एसइई पासविहीन गौप्थाडा गाउँ

blog

जुम्ला समाचारदाता

जुम्ला, मङ्सिर ४ गते । जुम्लाको तातोपानी गाउँपालिकाको गौप्थाडा गाउँमा एक जना पनि एसइई पास भएको व्यक्ति नभएको पाइएको छ । तातोपानी गाउँपालिका–२ स्थित गौप्थाडा गाउँमा २५ घरधुरी छन् तर त्यहाँ हालसम्म पनि एसइई पास भएका एक जना पनि व्यक्ति छैनन् । स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिलेसम्म विभिन्न प्रयास भए पनि एसइर्ई कसैले पनि पास गर्न सकेका छैनन् ।

उहाँका अनुसार गाउँमा कक्षा ३ सम्म अध्ययन गर्ने विद्यालय छ, त्यसपछि मावि तह अध्ययन गर्न तातोपानीको हिमशिखर मावि वा अन्य विद्यायलमा जाने गर्छन् । गाउँमा एसइई गरेका मानिस नभएपछि गाउँको विद्यालयमा अध्यापन गराउने शिक्षक पनि अन्य गाउँका छन् । सो गाउँमा स्थापना भएको कक्षा ३ सम्म सञ्चालन भइरहेको पैकेला आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले सो गाउँबाट अहिलेसम्म कसैले पनि एसइई नगरेको बताउनुभयो । पछिल्लो समय दुई जना विवाह गरेर आएका बुहारीले मात्रै एसइई पास गरेका छन् ।

गौप्थाडा गाउँबाट यो वर्ष भने ९ कक्षामा अध्ययन गर्ने दुई जना विद्यार्थी रहेको स्थानीयले बताएका छन् । सो गाउँमा मुख्य बस्ती कठायत, रावल र बुढाको रहेको छ । तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले गौप्थाडा गाउँमा गाउँपालिकाबाट एक अभिमुखीकरण कार्यक्रम राखेर त्यहाँको अवस्था, समस्या र सुधार्नुपर्ने विषयमा जोड दिन सकिने बताउनुहुन्छ । उहाँले अभिभावक शिक्षासहितका कार्यक्रम आवश्यक रहेको भन्दै आफ्ना सन्तानलाई कम्तीमा एसइई पास गर्नु पर्छ भन्ने भावना विकास गराइने जानकारी दिनुभयो । तातोपानी गाउँपालिका–२ का अध्यक्ष चन्द्रमान बुढाले गौप्थाडामा २५ घरधुरी रहेको बताउनुभयो । उहाँले अहिले तातोपानीमा गाउँपालिकाले ट्युसन पढ्ने व्यवस्था मिलाएको भन्दै कसैले बिचमा छाड्ने, कोही कामका लागि भारत जाने गर्दा एसइई पास नगरेको उल्लेख गर्नुभयो ।