• ४ मंसिर २०८१, मङ्गलबार

निकुञ्जमा बाघ पाल्न बजेट अभाव

blog

चितवन निकुञ्जको कसराको खोरमा राखिएको बाघ ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, मङ्सिर ४ गते । चितवन राष्ट्रिय निकुञ्जको सात वटा खोर अहिले बाघले भरिएका छन् । विभिन्न स्थानबाट मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने, स्थानीयमा त्रास फैलाउने जस्ता गतिविधि गरेपछि नियन्त्रणमा लिएर खोरमा राखिँदै आएको छ । 

पाँच वर्षदेखि केही महिनाअगाडिसम्म नियन्त्रणमा लिइएका बाघलाई खोरमा राखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । सात वटा खोर रहेकोमा सबै भरिएको उहाँले जानकारी दिनुभयो । खोरमा राखिएका बाघको गतिविधिलाई अध्ययन गरेर सामान्य अवस्थामा आएपछि मात्र प्राकृतिक बासस्थानमा छाड्ने गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताउनुभयो । अहिले राखिएका सबै बाघको गतिविधि सुधारोन्मुख भए पनि प्राकृतिक बासस्थानमा छाड्न नमिल्ने उहाँको भनाइ छ । 

निकुञ्जबाट निस्कने, अन्य स्थानका निकुञ्जबाट मानव बस्तीमा निस्केर आव्रmमण गर्न थालेपछि सुधारका लागि खोरमा राखिँदै आएको छ । अन्य जिल्लामा नियन्त्रणमा लिएकालाई पनि चितवन निकुञ्जको खोरमा ल्याएर राख्ने गरिएको थियो । अहिले सबै खोर भरिएको र नयाँ खोर निर्माण नभएकाले अन्यलाई राख्न नमिल्ने प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो । 

नयाँ खोर निर्माण, खोरमा राखिएका बाघलाई दैनिक आहाराका लागि बजेट अभाव भएको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । “निकुञ्जको बजेटमा नियन्त्रणमा लिएका बाघलाई आहारा खुवाउन बजेट छुट्याइएको हुँदैन,” उहाँले भन्नुभयो । बजेट नभए पनि प्रकृति संरक्षण कोष, अन्य सहयोगी संरक्षणसम्बन्धी संस्थाबाट खर्चको व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभयो । 

निकुञ्जको कसरा, देवनगर र पूर्वी क्षेत्र सौराहामा बाघ राखिएको छ । एउटा बाघलाई एक दिनमा सात किलो राँगाको मासु खुवाउने गरिएको छ । एउटा बाघलाई दैनिक चार हजार दुई सय रुपियाँको मासुमा खर्च आउने गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । खर्चको व्यवस्थापनको कठिनाइ भएकाले बजेट व्यवस्थापन गर्न माग गरिए पनि विभागबाट सुनुवाइ नभएको सूचना अधिकारी थापामगरले बताउनुभयो । लामो समयसम्म खोरमा बस्दा प्राकृतिक वासस्थानको जस्तो सहजता नहुने भन्दै प्रमुख संरक्षण अधिकृत पन्तले बाध्यताले राख्न परेकाले बाघको आनीबानी व्यवहारमा सुधार आउनासाथ जङ्गलमा छाड्ने बताउनुभयो । बाघको स्वास्थ्यका विषयमा चिकित्सकबाट परीक्षण तथा अध्ययन भइराखेको उहाँले जानकारी दिनुभयो । 

चितवन निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. विजय श्रेष्ठले पाँच वर्षदेखिको खोरमा बाघ भए पनि अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या नआएको भन्दै प्राकृतिक वासस्थानमा बसेको जस्तो नभए पनि स्वास्थ्यमा जटिलता नभएको बताउनुभयो ।  निकुञ्जले नियन्त्रणमा लिएर राखे पनि जङ्गल सफारीमा जाँदा नदेखिएपछि देवनगरमा राखिएको बाघ हेर्न आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् । खोरमा राखेको बाघ हेर्न जानेबाट शुल्कसमेत सङ्कलन गर्ने गरिएको छ ।