तनहुँ समाचारदाता
तनहुँ, मङ्सिर ४ गते । साथीसँग भएको झगडामा कुटपिट गरी हत्या गरिएका एक व्यक्तिको शव लिन परिवार तथा आफन्त आएका छैनन् । सम्पर्कमा नआउँदा १६ दिनदेखि शव दमौली अस्पतालको शवगृहमा राख्नु परेको छ ।
गत कात्तिक १७ गते घटनामा ज्यान गुमाएका व्यक्तिको कोही पनि आफन्तजन सम्पर्कमा नआएपछि शवगृहमा राख्नु परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले बताउनुभयो ।
शवको पहिचानका लागि प्रहरीले आफ्नो क्षेत्रबाट पहलकदमी थाले पनि पहिचान गर्न नसकिएको तनहुँ प्रहरीले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–१०, अधेरीभन्ज्याङको पराशर मार्गमा मजदुरी गरी बस्ने ३८ वर्षीय विशाल भन्ने प्रेमबहादुर थापामगरले धारिलो हतियार प्रहार गरी ती व्यक्तिको हत्या गरेका थिए ।
मृतक नुवाकोट जिल्ला घर भएका दिलीप तामाङ भएको ढुङ्गाखानीमा कार्यरत अन्य मजदुरले बताएको प्रनाउ थापाले जानकारी दिनुभयो । तनहुँबाट नुवाकोट जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिए पनि कुनै जानकारी नआउँदा शव पहिचानमा कठिनाइ भएको उहाँले बताउनुभयो । गहुँगोरो वर्णको, ठिक्कको शरीर, प्याजी रङको टिसर्ट, सेतो पाइन्ट लगाएको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।