• ७ पुस २०८१, आइतबार

कांग्रेस विजयी हुने महामन्त्री शर्माको विश्वास

blog

कीर्तिपुर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायत

काठमाडौं, मंसिर २ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको उपनिर्वाचनमा देशभरका बहुसङ्ख्यक स्थानमा कांग्रेसले विजय हासिल गर्ने विश्वास गर्नुभएको छ।

आइतबार कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डंगोलको उम्मेदवारी दर्ताका क्रममा कीर्तिपुर पुग्नुभएका महामन्त्री शर्माले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सो कुरा बताउनुभएको हो।

महामन्त्री शर्माले भन्नुभयो, “कीर्तिपुरमा आज जहाँ उम्मेदवारी दर्ता भइरहेको छ। यो दर्ता भइरहेको ठाउँमा, नेपाली कांग्रेसका पार्टीका उम्मेदवार कृष्णमान, कीर्तिपुरको शान भनेर नारै लगाएको मैले सुनेँ। यहाँनिर एकदम शानदार ढङ्गले दुइटै वडासहित परिणाम आउँदैछ। देशैभरी बहुसङ्ख्यक स्थानमा नेपाली कांग्रेस पाटीले विजय हासिल गर्छ।”

उहाँले सत्तामा रहेका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) मैदानमा प्रतिस्पर्धामा पनि रहेको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, “नेकपा एमाले र नेपाली कांग्रेस पार्टी हामी दुई दल सरकारमा छौं। सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा पनि हामी छौं।”

उहाँले बहुसङ्ख्यक स्थानमा कांग्रेसले जित हासिल गर्दा प्रधानमन्त्रीलाई सकारात्मक दबाबको भूमिका हुने भनाइ राख्नुभयो। सरकार निर्माणका बेला भएको सात बुँदे समझदारी कार्यान्वयनमा पनि त्यसले जोड पुग्ने उहाँको भनाइ छ।

उहाँले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन दृढ ढङ्गले लागेको पार्टी नेपाली कांग्रेस रहेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “अहिले जुन लोकतान्त्रिक संविधान बनेको छ, यो संविधानका बारेमा कमीकमजोरीलाई संशोधनबाट मिलाउने कर्तव्य हामी सबैको हो। तर, यो संविधानको स्वामित्व लिन्छौं भनेर कुनै दलले सिङ्गो रुपमा तत्कालको जनआन्दोलनको भावना, संविधानसभाको स्प्रिड, नागरिकको मतलाई कद गरेर केन्द्रमा राखेर यो लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन हामी चाहन्छौं भनेर दृढ ढङ्गले दावा गर्छौं भने त्यो नेपाली कांग्रेस पार्टी हो।”

  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।