• २८ पुस २०८१, आइतबार

प्रसिद्ध डिग्रे मेलाको आकर्षण ‘लठ्ठी नाच’

blog

डिग्रे मेलामा प्रदर्शन गरिएको सगाल नाच । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १ गते । 
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्षको हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म विशेष पूजाआजा हुन्छ र भव्य मेला लाग्छ । मेलाको अन्तिम दिन लाग्ने भव्य मेलाको बिचमा प्रस्तुत गरिने सगाल नाच यो मेलाको विशेष आकर्षण हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मुसीकोट नगरपालिका–७ साँख गाउँबाट आउने सगालहरुको लठ्ठी नाचपछि औपचारिक रूपमा डिग्रे मेला सकिन्छ । सगालहरु मन्दिर परिक्रमा गरेर बाजागाजासहित मन्दिर परिसरको चवरमा लठ्ठी नाच गर्छन् । हात–हातमा लिइएका लामा र ठुला लठ्ठी जुधाएर बाजाको तालमा नचाउने गरिन्छ ।

एउटा किंवदन्ती छ, “मन्दिर रहेको थर्पु गाउँका गौतमहरूले चराउन लगेका गाई घर फर्कन मानेन । साईँकुमारी भगवती देवीले दुध चढाउन आग्रह गर्नुभयो । दूध चढाइएपछि मात्र गाईलाई घर ल्याउन सकिएको हो ।”


यही शक्ति र आस्थाको कारण हरेक दिन गाईको दुध देवीका लागि र हरेक एक वर्षमा देवीको वाहन बाघको लागि बोका बली दिनुपर्ने चलन सुरु भयो । देवीको सुरक्षाका लागि लठ्ठी नाच समेत नाच्न थालियो । यही नाच मेलाको मुख्य आकर्षण बनिरहेको छ ।

यस बेलामा हजारौँ दर्शनार्थी अन्न, धन र सन्तान प्राप्तिको विश्वासका साथ मन्दिरको दर्शन गर्न आउने गरेको बताइन्छ । साईँकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ ।