नगेन्द्रराज रेग्मीको चौथो कृतिका रूपमा नियात्रासङ्ग्रह ‘लन्डन डायरी’ लाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको छ । साहित्यिक क्षेत्रमा कलम चलाइरहने नगेन्द्रराज रेग्मी गद्य साहित्यमा विशेष रुचि राख्छन् । लेखकले ‘लन्डन डायरी’ को विधालाई नियात्रासङ्ग्रह भनेबाट यो पुस्तक डायरी लेखनको शैलीमा लेखिएको हो भन्ने प्रतीत हुन्छ । नियात्रासङ्ग्रह हुँदैन, नियात्रामा एउटा यात्रा प्रारम्भ भएदेखि यात्रा समाप्तसम्मका घटना, अनुभव, सम्झना, धारणा, जानकारी समावेश गरिएको हुन्छ । यो सङ्ग्रह नभएर एउटै यात्राको वर्णनको निरन्तरता हो । सङ्ग्रहलाई विविध विषय वा रचना जम्मा गरी वा सङ्कलन गरी बनाएको पुस्तक भनिन्छ ।
नियात्रामा कल्पना तत्व हुन्छ नै, कल्पना प्रबल हुँदा नियात्रा स्वैरकल्पना बन्नु हुँदैन । यसमा लेखक सचेत हुनै पर्छ । नियात्राको प्रस्तुतिमा विभिन्न शैली हुने भए पनि अधिक मनोवाद स्वीकार्य हुन सक्दैन । नियात्राको प्रस्तुति रोचक, कौतूहल र मनोरम हुनु पर्छ । प्रस्तुत कृति दैनिकी ढाँचाको आत्मपरक रहेको छ र वर्णनात्मक पनि छ ।
यस नियात्रामा १५ वटा शीर्षक छन् । लेखकको बेलायत यात्राका लागि घरबाट बेलायत प्रस्थान गरेदेखि काठमाडौँ फिर्ता नभइन्जेलसम्मको अवधि १५ दिन भएकाले यिनै १५ दिनको यात्रालाई वर्णन गरिएको छ, यस नियात्रामा । प्रत्येक दिनका लागि एक एक शीर्षक दिएर सोही दिनका घटना, परिघटना र विषयवस्तुलाई दैनिकीका रूपमा प्रस्तुत गरिएको छ । यात्रा २०७६ साउन १३ गते (जुलाई २९, २०१९) देखि सुरु भएको छ । पहिलो दिन दोहा हुँदै बेलायत प्रस्थान शीर्षकबाट सुरु भएको यात्रा आफ्नै देशको माटोमा शीर्षकको वर्णनपछि २०७६ साउन २७ गते (१२ अगस्ट, २०१९) मा आएर नियात्रा लेखनको बिट मारिएको छ ।
लेखकले हिथ्रो विमानस्थलको अध्यागमन कार्यालयमा बेलायत प्रवेशमा हैरानी भोगेको उल्लेख गरेका छन् । विशेष गरी युरोप छिर्दा एसियालीलाई अध्यागमनमा निकै कडा परीक्षण गरिने रहेछ । यसका कारण उनीहरू मात्र होइनन्, एसियाली नै हुन्, मौका पाएमा युरोप छिर्ने र त्यही लुक्ने । अन्त्यमा, त्यहीँकै बासिन्दा हुन चाहने । यही कारणले युरोपका विभिन्न देशका अध्यागमनमा एसियालीका लागि छुट्टै पङ्क्ति पनि हुने गर्छ । अध्यागमनमा भारतीय मूलका कर्मचारी भए नेपालीले थप सास्ती खेप्नैपर्ने हुन्छ । लेखकले पनि त्यही भोगेका छन् । उनी लेख्छन्, “हाम्रा सम्पूर्ण विवरण र कागजात, निमन्त्रणापत्र देखाउँदा पनि त्यहाँकी एक जना भारतीय मूलकी बेलायती महिला कर्मचारीले निकै आनाकानी गरिरहिन् ।” (पृ. ३७)
लेखकको यात्रा विवरण वर्णनात्मक छ । लेखकले यात्राको वर्णन गर्दा प्रत्यक्ष प्रसारण गरे झैँ पुस्तकमा उल्लेख गरेका छन्– अहिले पनि तिनै युवायुवती लन्च लिने ठाउँको आड लिएर चुरोटको धुवाँ ब्वाङ ब्वाङ उडाउँदै छन् । (पृ. ६२) कस्तो जीवन्त प्रत्यक्ष प्रसारण शैली !
सडक जाम नेपालको मात्र समस्या होइन, दक्षिण एसियामा यो त पुरानो रोग नै हो तर विकसित देश बेलायतमा पनि सडक जामको कुरा लेखकले उठाएका छन् । बेलायतमा त सडक यातायात व्यवस्थित छ । त्यहाँ त रेल, मेट्रो रेल, ट्याक्सी, बस, ट्राम, फेरी, पानीजहाज जस्ता व्यवस्थित यातायात छ भनिन्थ्यो । लेखकले लन्डन सहरलाई पनि सवारी जामले आक्रान्त पारेको उल्लेख गरेका छन्, “सडक जाममा अभ्यस्त भइसकेका हामीहरूलाई समेत बेलायतको सवारी जामले आक्रान्त पार्दो रहेछ ।” (पृ. ४३)
बेलायतको पार्लियामेन्टअगाडि प्लेकार्ड बोकेर चुपचाप बसेर विरोध जनाएको कुरा लेखकले नेपालका नेता तथा कार्यकर्तालाई जानकारी दिनुपर्ने भन्दै नेपालमा विरोध गर्ने उग्र शैलीप्रति व्यङ्ग्य गर्दै असन्तोष प्रकट गरेका छन्, “हामीलाई भन्दा पनि हाम्रा नेता र तिनका कार्यकर्ताले यो दृश्य देख्नु पथ्र्यो कि ?” (पृ. ४३) । लेखकले बेलायतमा ‘स्पिकर कर्नर’ नामको स्थान तोकिएको र त्यस कर्नरमा व्यक्ति वा समूहले आफ्नो मनमा लागेका असन्तुष्टि, कुण्ठा र आक्रोश व्यक्त गर्न पाइन्छ भन्ने प्रसङ्ग उल्लेख गरेका छन् ।
साहित्य अनुरागी र आफैँ पनि साहित्य लेखन गर्ने भएकाले होला, लेखकले बेलायत पुगेपछि अङ्ग्रेजी साहित्यकार, विद्वान् तथा कलाकारको नाम सम्झिएका छन् । लेखकको बेलायत यात्राको मुख्य प्रयोजन स्कुल अफ म्यानेजमेन्टले आयोजना गरेको तीनदिने अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन र विलिङ्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (अनेसास) को कार्यक्रममा भाग लिने थियो । लेखक पाँचौँ दिनको विवरण दिँदै लेख्छन्, “हरि भाइका कुराबाट हामीले पनि नयाँ ज्ञान पायौँ ।” (पृ. ६९)
ज्ञान जीवनको अन्तिम समयसम्म हासिल हुँदै जान्छ, ज्ञान असीमित छ, हामी थोरै ज्ञानमै आफूलाई बुझक्कड ठान्छौँ । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा दरबार छोडे, छ वर्षको कठोर ध्यानपछि ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे । हामीले त ज्ञानका लागि न कठोर प्रयत्न गर्छौं, न त पाएको ज्ञानलाई नै संरक्षण गर्छौं, न त पाएको ज्ञानलाई नै बाँड्छौँ । हरि भाइबाट प्राप्त ज्ञानलाई पुस्तकमा लेखकले हामीसामु बाँडेका छन् ।
नियात्रामा मनोवाद मिसाइएको छ । यो पुस्तकमा लेखकको मनोसंवाद प्रशस्त भेट्न सकिन्छ । “मलाई यहाँसम्म केले ल्याइपु¥यायो ? घरि घरि सम्झिँदा त्यसै त्यसै उदेक लागेर आइरहेछ ।” (पृ. ४०) । लेखकले आफ्नै मनसँग बात मारिरहेको कुरा पुस्तकका विभिन्न शीर्षकमा भेटिन्छ । “मेरै मनसँग म बात मार्दछु ।” (पृ. ६२) । मनोवादका समयमा लेखकलाई पुराना कुरा याद हुँदै जान्छन् । लेखकले स्मृतिका कुरालाई यात्राको सन्दर्भ अनुसार ठाउँ ठाउँमा उल्लेख गरेका छन्, “एक पटक गाईघाटबाट काठमाडौँ आउने क्रममा गाडीमा यात्रा गरिरहेको थिएँ ।” (पृ. ६२) । “लाग्यो, आज म अलि बढी नै भावुक हुन पुगेँ कि ?” (पृ. ६५) । “यो मन पनि कस्तो ? कहिलेकाहीँ कति ससाना कुराले पनि खुसी बन्छ, कुनै ठुलो कुरा नै नचाहिने, म मनमनै हाँस्छु ।” (पृ.९३)
नेपालमा २०७२ सालमा भूकम्प आएको थियो । त्यसको चार वर्षपछि २०७६ सालमा बेलायत भ्रमण गरेका लेखकले नियात्रामा यस भूकम्पलाई केही समयअघि भनेर लेखेका छन् । त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टर्न चर्चिलको कार्यकाल सन् १९९० देखि पाँच वर्ष लेखेका छन् । उनको प्रधानमन्त्रीको पहिलो कार्यकाल सन् १९४० देखि सुरु भएको थियो । त्यस्तै ब्रुनाईका राष्ट्रपति भनिएको छ, यहाँ राष्ट्रपति हुँदैनन् । लेखकले ब्रुनाईमा राष्ट्राध्यक्ष सुल्तान हुन्छन् भन्ने कुरालाई ध्यान नदिएको देखिन्छ । कतिपय तथ्यमा द्विविधा हुँदा लेखकले प्रामाणिक स्रोतबाट सत्यापन गर्नु पथ्र्यो । चन्द्रशमशेरको युरोप (बेलायत) यात्राको वर्णन... (पृ. ३०) । युरोपको एउटा देश बेलायत हो, बेलायत नै युरोप होइन ।
पाँचौँ दिनको विवरणमा लेखकले ‘स्पिकर्स कर्नर’ लाई उल्लेख गरेका छन् । उनले यसरी लेखेका छन्, “यो त्यस्तो ठाउँ हो, जहाँ सन् १८७२ देखि जसले, जसलाई इङ्गित गरेर जे जसरी आफ्ना मनका कुण्ठा, आक्रोश र असन्तुष्टि ओकल्न पाइन्छ ।” (पृ. ६६)
लेखकले अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (अनेसास) मा भाग लिन आएका दार्जिलिङ, सिक्किम वा आसामका प्रतिनिधिको भनाइ उल्लेख गर्दै ‘परदेशी’ र ‘प्रवासी’ बिचको भिन्नता पुस्तकमा उल्लेख गरेका छन् । वास्तवमा यो भिन्नता ज्यादै रोचक, स्पष्ट र जानकारीमूलक रहेको छ । आफ्नो देश फर्केर आउने परदेशी हुन् र देश नफर्कने व्यक्ति प्रवासी हुन् (पृ. ८७) । कति स्पष्ट, सटिक र चित्तबुझ्दो तर्क ! नेपालबाट युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया गएर स्थायी बसोबास अनुमति लिएका मानिस ‘परदेशी’ रहेनन्, ‘प्रवासी’ भए, जसरी भूगोल वा सिमाना कारण मात्र होइन, तिनीहरू नफर्कने भएकाले पनि
‘प्रवासी’ भए । भारतीय प्रतिनिधिले भनेका कुरा उल्लेख गर्दै नियात्राकार लेख्छन्, “हामीहरू देश छोडेर गएका हैनौँ, भूगोल अर्थात् सिमानाका कारणले हामी अर्को देशका भएका हौँ । भाषाले मात्र हामी नेपाली हौँ ।” (पृ. ८७) । विदेशमा स्थायी बसोबासको अनुमति लिएर बसेका नेपाली देश छोडेरै गएका हुन्, उनीहरूलाई भूगोल वा सिमानाका कारण फरक देशका भएका होइनन् । पुस्तकमा ‘डायस्पोरा’ का सम्बन्धमा पनि विचार मन्थन भएको पाइन्छ । ‘डायस्पोरा’ मा त ‘परदेशी’ समेटिन्छन्, ‘प्रवासी’ होइन भन्ने सन्देश दिएको जस्तो लाग्छ ।